भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

विदेशमा आर्जित शीप र पूँजी स्वदेशमा उपयोग

विदेशमा आर्जित शीप र पूँजी स्वदेशमा उपयोग

सुनसरी । पछिल्लो समय युवाहरूले विदेशमा आर्जित शीप र पूँजी स्वदेशमा उपयोग गर्न थालेका छन् । यसैका उदाहरण हुन् वराहक्षेत्र–५ लक्ष्मीपुरका युवा आदेश गौतम । १५ वर्ष विदेशमा परिश्रम गरेका उनलाई सधैं विदेश बसिरहन मन लागेन । वर्षौंसम्म आफूले आर्जन गरेको शीप आफ्नै गाउँ–ठाउँमा लगाउने सोचले स्वदेश फर्किएका उनले डेढ वर्षअघि वराहक्षेत्र–५ भरौल कालाबन्जरमा ‘भरौल गार्डेन’ नामक रेस्टुराँ खोलेका छन् । ‘कालाबन्जरमा स्तरीय होटल रेस्टुराँ नभएको र आफूले पनि यससम्बन्धी शीप आर्जन गरेकाले अन्य विकल्पमा लागिनँ,’ उनले भने । इण्डियन, चाइनिज, इटालियन परिकार बनाउन सिद्धहस्त उनले पहिले यहाँका पारखीहरूको स्वाद, छनोट र मुडअनुसार नै खाना पस्कने निधो गरेर रेष्टुराँ व्यवसाय शुरू गरेका हुन् ।

यहाँका खानाका पारखीलाई धरान, इटहरी जान नपरोस् भनेर आदेशले स्वादिलो सेकुवा यहीँ तयार गर्ने योजना बनाए । कफी मेशिनबाटै विश्वस्तरीय कफी ‘सर्भ’ गर्नुपर्छ भन्ने उनले ठाने । ‘खाना नै जीवन हो, त्यसैले पुरानै खानाका नयाँ स्वादहरू बाँडौं मेरो सोचाइ हो,’ उनले भने, ‘बर्गरका लागि आवश्यक चाइनिज सागको उत्पादन गर्न यहाँका किसानलाई प्रोत्साहित गर्ने र बर्गरहरूका नयाँनयाँ स्वाद दिने योजनामा पनि छु ।’ आदेशले चीनमा रहँदा होटल र हस्पिटालिटीको विभिन्न क्षेत्रमा काम गरेर अनुभव बटुलेका छन् । साथै उनले इटालियन पाँचतारे होटलमा समेत काम गरेका छन् ।

कालाबन्जरमा उनले लाखौं लगानीमा रेस्टुराँ खोलेका हुन् । रेस्टुराँमा उनले स्थानीय युवालाई समेत आफ्नो शीप बाँडेका छन् । साथै शीप सिकाएर राम्रो कमाइ हुने ठाउँमा जान स्थानीय युवालाई प्रोत्साहित गरेका छन् । ‘यहाँ जतिसुकै राम्रो गरे पनि म २० हजारभन्दा बढी तलब दिन सक्दिनँ । राम्रो काम गर्नेले विदेशमा मासिक २ लाख रुपैयाँसम्म लिएका छन् । यहीँ मैले सिकाएका एकजनालाई कतार पठाइदिएको छु,’ उनले भने, ‘५० प्रतिशत लगानी पनि गरिदिएँ । गाउँघरका इच्छुक छन् भने सिकाउन सक्छु । पारिश्रमिक समेत दिएर सिकाइरहेको छु ।’

 

 


Thali Mobile Pvt.Ltd.