काठमाडौं । ७ सय २५ विद्यालयहरुमा सूचना प्रविधि प्रयोगशाला स्थापना गरिएको छ । हालसम्म ८९८ विद्यालयमा तोकिएको उपकरण पुगेको र ७२५ विद्यालयहरुमा आवश्यक उपकरण जडान भई सूचना प्रविधि प्रयोगशाला स्थापना भएको नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी दिएको हो ।
कोभिड १९ को विषम परिस्थितिमा कतिपय विद्यालयहरु क्वारेन्टिनका रुपमा समेत प्रयोगमा आएका तथा बन्दाबन्दीका कारणले विद्यालय बन्द रहेको अवस्थामा विद्यालय सुचारु भएको ४५ दिन भित्र कार्य सम्पन्न गर्ने गरी उक्त सम्झौताको समयावधि थप गरिएको समेत प्राधिकरणले जनाएको छ ।
दूरसञ्चार प्राधिकरणले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘हालसम्म ८९८ वटा विद्यालयमा तोकिएका उपकरण पुर्याईसकिएको तथा ७२५ विद्यालयहरु (सुची लिङ्कमा उपलब्ध) मा आवश्यक उपकरण जडान भई सूचना प्रविधि प्रयोगशाला स्थापना भइसकेको जानकारी सप्लाएरबाट प्राधिकरणमा प्राप्त भएको जनाइएको छ । सूचना प्रविधि प्रयोगशाला जडान कार्य सम्पन्न भएका स्थानहरुमा सम्बन्धित विद्यालयसँग भएको समझदारी अनुसार केही समस्या, गुनासो वा प्रतिक्रिया भए टिपाउन धिकरणले अनुरोध गरेको छ ।
सभा सम्मेलन तथा गोष्ठी गर्ने कार्यमा नेपाल सरकारबाट लगाईएको प्रतिवन्ध फुकुवा हुने वित्तिकै सम्पूर्ण जिल्लाहरुमा तोकिएको बमोजिम तालिम प्रदान गर्ने गरी हाललाई तालिम वापतको रकम समेत रोक्का गरी कूल सम्झौताको करिब ३० प्रतिशत रकम आपूर्तिकर्ता संस्थालाई भुक्तानी गरिएको प्राधिकरणले जनाएको छ ।
