खलङ्गा । दार्चुलाको मालिकार्जुन गाउँपलिका–३ को सडक डिभिजन कार्यालय पाटन बैतडी मातहतको साइट कार्यालयका चार भवन जीर्ण बनेका छन् । उक्त भवन २०५८ सालदेखि प्रयोगविहीन भई जीर्ण अवस्थामा पुगेका हुन् । ती भवन २०५० सालमा बनेका थिए ।ती भवनमा बैतडी दार्चुला सडकखण्डको साइट कार्यालय सञ्चालन भएको थियो । भवनको बेहाल देखेर मालिकार्जुन माविले जीर्ण अवस्थाका भवनको मर्मतसम्भार गरी प्राविधिक शिक्षालय सञ्चालन र छात्रवास प्रयोजनका लागि डिभिजन सडक पाटनलाई माग गरिए पनि सडक विभागले दिन नमानेको मालिकार्जुन माध्यमिक विद्यालय मडका प्रअ भुवन डागाले राससलाई बताउनुभयो । विद्यालय व्यवस्थापन समितिले निर्णय गरी जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिसँग समन्वय गरी सरकारी सम्पत्ति नष्ट हुनुभन्दा गाउँपालिकाको आर्थिक सहयोगमा मर्मतसम्भार गरी प्राविधिक शिक्षालय सञ्चालन गर्ने प्रस्ताव पेस गरेको प्रअ डागाले बताउनुभयो ।
नेताहरुले पनि यो विषयमा कुनै चासो नदेखाएको स्थानीय सुरेशसिंह धामीले गुनासो गर्नुभयो । स्थानीय सोवीर सिंह धामीका अनुसार जीर्ण भएका दुई भवन विद्यालयकै जमिनमा रहेको छ ।घरका छाना छैनन् भने भित्रका सामान लथालिङ्ग अवस्थामा छन् । भवनका झ्याल ढोका छैनन् । भवन भित्र कैयौ सामान जथाभावी फालिएको अवस्थामा छन् । यसमा सम्बन्धित निकायले गम्भीर ध्यान दिनुपर्नेमा स्थानीयको भनाइ छ ।सडक डिभिजन कार्यालय पाटन बैतडीका निमित्त कार्यालय प्रमुख बर्खबहादुर कठायतले गत वर्ष एउटा घर पुनर्निर्माण गरिएको बताउनुभयो । सडक डिभिजन बैतडीले दार्चुला बैतडी र बझाङ जिल्ला पनि हेर्ने भएकाले सबै ठाउँमा बजेट हाल्नुपर्ने हँुदा बजेट अपुग भएको कारण पुनर्निर्माण गर्न नसकिएको उहाँले बताउनुभयो ।उहाँका अनुसार एकै चोटी सबै भवन बजेट अभावका कारण बनाउन नसकिने हुँदा आगामी बजेटमा क्रमागत रुपमा पुनर्निर्माण गरिने छ । विद्यालयलाई भवन दिने सवालमा सङ्घीय सरकारबाट अनुमति लिनुपर्ने भएकाले भौतिक तथा यातायात मन्त्रालयले दिन नमिल्ने बताए पछि रोकिएको उहाँले बताउनुभयो ।
