काठमाडौं । आज बिहीबार विश्वभर सिमसार दिवस मनाइँदैछ । यो दिवस ‘आजको आवश्यकता, सिमसारको पुनःस्थापना’ नाराका साथ नेपालमा पनि मनाइँदैछ । सन् १९८७ मा नेपालले रामसार महासन्धिमा हस्ताक्षर गरेसंगै नेपालका १० वटा क्षेत्र रामसार सूचीमा सूचीकृत भएका छन्। नेपालको ६० हजार ५६१ हेक्टर क्षेत्र रामसारमा पर्छ। सन् १९८७ डिसेम्बर १७ मा पहिलो पटक नेपाल सरकारले कोसी टप्पु वन्यजन्तु आरक्षलाई रामसार सूचीमा सुचिकृत गरेको थियो ।
सिमसार क्षेत्रमा थुप्रै दुर्लभ, संकटाभिमुख र संकटापन्न जन्तुको बासस्थान तथा महत्त्वपूर्ण वनस्पति रहेकाले नेपालले कोशीटप्पुसहित बिसहजारी तथा आसपासका ताल, घोडाघोडी ताल क्षेत्र, जगदिशपुर जलाशय, रारा, फोक्सुण्डो, गोसाइँकुण्ड तथा आसपासका क्षेत्र रामसारमा सूचीकृत गरेको हो र यी क्षेत्र अन्तर्राष्ट्रिय महत्त्वका मानिएका हुन् ।
सिमसार क्षेत्रमा मानवीय अतिक्रमणले गर्दा सो क्षेत्रहरु संकटमा पर्दै गएकोले यसलाई जोगाउन तथा रामसार क्षेत्रको महत्वबारे जानकारी गराउँन विश्व सिमसार दिवस मनाउँदै आएको पाइन्छ ।
