काठमाडौं । पश्चिम नेपालका थारू समुदायले आज अटवारी पर्व मनाउँदै छन् । एक आपसमा एकता र सम्बन्ध प्रगाढ बनाउने रूपमा लिइने अटवारी पर्व थारू समुदायमा परम्परागत रूपमा मनाइने गरिन्छ ।
भाद्र महिनाको कृष्णाष्टमी पछिको शुक्लपक्षको पहिलो आइतवारका दिन यो पर्व मनाइने गरिन्छ । थारू समुदायले आइतवारको दिनलाई अटवार नामले चिन्ने भएकाले यो पर्व आइतवार सुरु भएर सोमवारसम्म मनाउने गरिन्छ ।
यो पर्वमा विशेष गरी दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै दिनभर व्रत बसी साँझपख भीमको पूजा गर्दछन् । व्रतपछि गहुँ र चामलको पीठोबाट बनाइएका परिकार र फलफूल चढाई दिदीबहिनीको भाग छुट्याएर बचेको आफूले खाने चलन रहेको छ ।
दिदीबहिनीका लागि छुट्याइएको भागलाई अग्रासन भनिने र अग्रासन दाजुभाइले दिदीबहिनीको घरमै पुर्याइदिने चलन रहिआएको छ ।
अग्रासन दिएर फर्किने क्रममा दिदीबहिनीले दाजुभाइलाई मनपर्ने खानेकुरा खुवाउने चलन समेत रहेको छ। दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायतका जिल्लाका चौधरी डगौरा समुदायले विशेष महत्वका साथ यो पर्व मनाउने गर्दछन् ।
