भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली प्रदेश सभामा विपक्षीको अवरोध, बैठक स्थगित | पेट्रोलियम पदार्थमा कृत्रिम अभाव गराउनेमाथि कारबाही गर्न राष्ट्रियसभामा माग | पाकिस्तानमा मनसुनी विपद् : वर्षाजन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते | सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित | अविरल वर्षाले कैलाली-कञ्चनपुर जलमग्न, जनजीवन प्रभावित | कर्णाली राजमार्गमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्य यात्रुको खोजी जारी | राष्ट्र बैंकले देशभर ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने, १० हजारभन्दा बढी नमुना सङ्कलन गरिने | थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनाको जन्मकैद सदर |

हावाहुरीले केराखेतीमा ठूलो क्षति

हावाहुरीले केराखेतीमा ठूलो क्षति

टीकापुर  : गत असोज २९ गते वर्षासँगै आएको हावाहुरीले कैलालीमा केराखेतीमा ठूलो क्षति पुर्‍याएको छ। पाँच बिघा क्षेत्रफलमा केराखेती गरेका टीकापुर–५ झन्झटपुरका रेवन्त साउदको केराबारीमा करिब ७५ प्रतिशत क्षति भएको छ । बारीमा भएका अधिकांश केराका बोट हावाहुरीले ढालेको छ ।

‘उत्पादन लिने बेलामा हावाहुरीले केराका सबै बोट नोक्सान गर्‍यो’, साउदले भने, ‘वर्षभरिको मेहनत खेर गयो। लगानी पनि डुब्यो।’ अर्का केरा उत्पादक किसान रामबहादुर कुँवरले पनि जोशीपुरको झवही, टीकापुरको शङ्करपुर र जानकीको गोलौरीमा गरी ३२ बिघा क्षेत्रफलमा केराखेती गरेका छन्। ‘अहिलेसम्म कति बोट ढले भन्ने यकिन छैन’, उनी भन्छन्, ‘गएको वर्ष खडेरीले केरा बिग्रियो अहिले फेरि हावाहुरीले ठूलो क्षति गर्‍यो।’

अर्का किसान टेकेन्द्र धामीको पनि करिब ३० प्रतिशत क्षति भएको छ। ‘बाहिरबाट हेर्दा त्यति होलाजस्तो छ तर भित्र पस्न पाएको छैन’, उनले भने, ‘अझै धेरै पनि हुनसक्छ। केरा उत्पादक संघ कैलालीका अध्यक्ष दीपेन्द्र थारूका अनुसार कैलालीमा हावाहुरीले केरामा धेरै क्षति पुर्‍याएको छ। त्यसमा पनि टीकापुर नगरपालिकामा बढी क्षति भएको छ। ‘कुनै किसानको त ७०–८० प्रतिशतसम्म पनि क्षति भएको छ’, थारूले भने।’ हावाहुरीले गरेको क्षतिको यकिन विवरण आउन अझै केही दिन लाग्ने उनले बताए।

अध्यक्ष थारूले बर्सेनी केराखेतीलाई हावाहुरीले यसरी क्षति गरिरहने भएकाले सबै केरा उत्पादक किसानलाई बाली बिमा गर्न आग्रह गरेका छन्। ‘हामीले बाली बिमा गर्नुस् भनिरहेका छौँ’, उनले भने, ‘यसले केही मात्रामा भए पनि राहत पुग्छ।’

कैलाली जिल्लामा करिब एक हजार २०० हेक्टरमा केराखेती हुने गरेको छ। ८०० हेक्टर क्षेत्रफल टीकापुर क्षेत्रमा मात्र केराखेती गरिएको छ। सोमबार आएको हावाहुरीले नागरिकका घरमा समेत क्षति पुर्‍याएको छ । हावाहुरीले टीकापुर–४ मा २६ घरमा क्षति गरेको वडाध्यक्ष लालवीर चौधरीले बताए।

 


Thali Mobile Pvt.Ltd.