हिंसा न्यूनीकरण भन्दा पनि सरकारकाे ध्यान एनजीओ/आइएनजीओ तर्फ केन्द्रित छ: सांसद सृजना सैंजू

हिंसा न्यूनीकरण भन्दा पनि सरकारकाे ध्यान एनजीओ/आइएनजीओ तर्फ केन्द्रित छ: सांसद सृजना सैंजू

भक्तपुर । वागीश्वरी कलेज अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको अवसरमा प्रवचन कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका सांसद सृजना सैंजूले लैङ्गिक हिंसाविरुद्ध कानून बनाइ हिंसा न्यूनीकरण गर्नुपर्ने सरकार आफै एनजीओ र आइएनजीओको कार्यक्रममा सहभागी भएर भत्ता खाइरहेकोमा खेद व्यक्त गर्दै अपराधीलाई कारवाही नगर्ने सरकारविरुद्ध संघर्ष गर्न विद्यार्थीलाई विद्यालय उमेरदेखि नै सिकाउनु पर्ने बताइन् ।

नेपालको राजनीतिक इतिहासमा तीन तहमै सबभन्दा बढी महिला जनप्रतिनिधि भएको समयमा सबभन्दा महिला हिंसाका घटनाहरु हुनु लज्जास्पद भएको उनको भनाई छ । पूँजीवादी व्यवस्था नै श्रमिक महिलाको हिंसाको एकमात्र कारण हो भन्दै यसबाट मुक्तिको लागि श्रमिक महिलाहरु राजनैतिक रूपले संगठित हुनु आवश्यक रहेको बताइन् ।

महिला हिंसा गर्ने जोकोहिलाई पनि मृत्युदण्ड दिने बन्दोबस्त हुनुपर्छ भनी नेमकिपाले संसदमा बारम्बार आवाज उठाउँदा पनि गुण्डा, अपराधी, तस्करीद्वारा पोषित सरकारले कानुन ल्याउने आँट नगरेको बताइन् । कार्यक्रममा कलेजका प्राचार्य धनकुमार श्रेष्ठले राजनैतिक सचेतताविना लैङ्गिक हिंसा कम गर्न नसकिने बताए ।

विद्यार्थीहरुले लैङ्गिक हिंसालाई कम गर्न आलोचनात्मक दृष्टिकोण राखेर लेख रचनाहरु लेख्नु पर्ने धारणा राखे । कलेजका संयोजक ज्ञानसागर प्रजापतिले विदेशमा नेपाली चेलीबेटीहरु चौबाटोमा खसी बोकाजस्तै बेचबिखन गराउने नीति ल्याउने नेपाली कांग्रेस, एमाले (अहिलेको नेकपा) नै मुख्य दोषी भएको बताए ।

Bktलैङ्गिक हिंसालाई कम गर्न सरकारको गलत नीतिविरुद्ध विद्यार्थीहरुले १६ दिन मात्र नभई निरन्तर सङ्घर्ष चालू राख्नु पर्ने बताए । छोरालाई प्राथमिकतामा राख्ने संस्कारले जकडिएको यो समाजलाई परिवर्तन गरी महिलाहरु आत्मनिर्भर बन्न सकेको खण्डमा अहिलेको स्थितिमा महिला हिंसा कम हुनसक्ने धारण उनको छ ।

वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले लैङ्गिक हिंसाबारे पुरुषहरुलाई पनि प्रशिक्षण दिनुपर्ने बताए । सामाजिक सञ्जालमार्फत हुने लैङ्गिक हिंसाबाट सबै सचेत हुनुपर्छ उनको जिकिर छ । विद्यालय व्यवस्थापन समितिका सदस्य एवं शिक्षिका सुशिला कर्माचार्यको सभापतित्वमा भएको कार्यक्रममा शिक्षक मङ्गलेश्वर ध्वजू, विद्यार्थी सुनिता त्वायनावासु, कृपा प्रजापति, सदिक्षा न्हेम्हाफुकी, मालती पराजुलीलगायतले लैङ्गिक हिंसाबारे विचार व्यक्त गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.