होटल खुलेर के गर्नु ? पाहुना आउदैनन् !

होटल खुलेर के गर्नु ? पाहुना आउदैनन् !

बर्दिया । पर्यटन क्षेत्र खुला गर्ने सरकारी निर्णयसँगै अधिकांश होटल पर्यटकलाई सेवा दिन तयार देखिए । लामो समयदेखि बन्द रहेका होटलले व्यवसाय सञ्चालनका लागि सरसफाइ र मर्मत सम्भारलाई तीव्रता दिए ।

बन्द रहेका होटलका ढोका खुलेसँगै चहलपहल पनि बढेको छ । बन्दाबन्दीका कारण घर गएका धेरै जसो होटलका कर्मचारी तथा मजदुर काममा फर्किइ सकेका छन् । दैनिक १०० देखि १५० जनासम्म आन्तरिक तथा बाह्य पर्यटक आउने ठाकुरद्वारा क्षेत्रका होटल महामारीका कारण लामो समयदेखि बन्द रहेका थिए ।

अधिकांश होटल तथा रिसोर्टले सरसफाइ र मर्मत सम्भारको काम सकिसकेको गैँडा क्याम्प रिसोर्टका सञ्चालक रामजी थापाले बताए । ठाकुरद्वारा क्षेत्रका होटल तथा रिसोर्ट सञ्चालकको संस्था पर्यापर्यटन विकास मञ्चका अध्यक्ष कृष्णप्रसाद भट्टराईले सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डअनुसार नै होटल सञ्चालनमा आएको जानकारी दिए । सुविधासम्पन्न होटल तथा रिसोर्ट सञ्चालनमा आएर के गर्नु पाहुना भने आउन सकेका छैनन् ।

 


Thali Mobile Pvt.Ltd.