काठमाडौं । २०२० अमेरिकाको पश्चिमी कोष्टमा लागेको वन डढेलोले ५० लाख एकड जमिन जलेर ध्वस्त पारेको छ । डडेलोमा परि ३५ जनाले ज्यान गुमाइसकेका छन् । अमेरिकी राष्ट्रपति चुनाव अभियानमा जलवायु परिवर्तनको मुद्दाले प्राथमिकता पाएको छ । अमेरिकामा सबैको ध्यान जलवायु परिवर्तनतर्फ केन्द्रित भएको सञ्चार माध्यमहरुले जनाएका छन् ।
हप्तौँ अगाडिदेखिको आगलागीले क्षतिग्रस्त बनेको क्यालिफोर्निया पुगेका राष्ट्रप्रति ट्रम्पले, सबै वैज्ञानिक तथ्य अस्वीकार गर्दै, “तापमान बिस्तारै आफैँ घटेर चिसो बढ्दै जाने” भनेपछि उनी पुनः विवादमा आएका छन् । उनले यसअघि पनि थुप्रैपटक आफूले जलवायु परिवर्तन लगायत मान्छेद्वारा सिर्जित वातावरणीय विनाशका कुरामा विश्वास नगर्ने बताइसकेका छन् । क्यालिफोर्निया पुगेर हालैमा दिएको बयानमा उनले उक्त डढेलो वनको उचित व्यवस्थापन नगरिएकाले भएको बताएका हुन् ।
