एक करोड १० लाख नागरिक विस्थापित

एक करोड १० लाख नागरिक विस्थापित

काठमाडौं । रुस र युक्रेनबीचको युद्धको चपेटामा परेर एक करोड १० लाख नागरिक विस्थापित भएका छन् । रुस र युक्रेनबीचको युद्धका कारण ५२ दिनसम्म एक करोड १० लाख नागरिक विस्थापित भएका हुन् । युद्धका कारण दशौं हजार मानिसको मृत्यु समेत भएको छ । युक्रेनको राजधानीसहितका मुख्य सहरहरूमा ठूलो क्षति पुगेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले दाबी गरिरहेका छन् । युक्रेनको सेनाले कम्तीमा १९ हजार ६ सय रुसी सैनिकको ज्यान गएको बताएका छ ।

त्यस्तै, झण्डै १४ हजार युक्रेनी सैनिक मारिएको मार्च २५ मा रुसी रक्षा मन्त्रालयले उल्लेख गरेपनि हताहतीको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत फेबु्रअरी २४ मा युक्रेनविरुद्ध ‘विशेष सैन्य कारबाहीको घोषणा गरेपछि सुरु भएको आक्रमण शनिबार ५२ दिन पूरा भएको छ । सो अविधिमा करिब ४ करोड ४० लाख जनसंख्या रहेको युक्रेनमा एक करोड १० लाख भन्दा बढी जनता विस्थापित भएका छन् । दशौं हजार सर्वसाधारणको ज्यान गएको छ भने हजारौं सर्वसाधारण युद्धग्रस्त क्षेत्रमा फसेका छन् ।

रुसले ब्ल्याक सीको सोभियतकालीन युद्धपोत गुमाएको छ । रुसको लागि महत्वपूर्ण रहेको ‘मोस्कभा’ नामक युद्धपोतमा आफूले मिसाइल प्रहार गरेको युक्रेनको दावी छ । आफ्नो युद्धपोत डुबेपछि त्यसको बदला लिन मस्कोले युक्रेनमाथि आक्रमण तीव्र पार्ने चेतावनी दिएको छ । दुवै पक्षका सयौं लडाकु विमान, हेलिकप्टर, ट्यांक, बख्तरबन्द गाडी ध्वस्त भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.