भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

काठमाडौँ उपत्यकामा मागको एक तिहाई मात्र पानी वितरण

काठमाडौँ उपत्यकामा मागको एक तिहाई मात्र पानी वितरण

काठमाडौँ । काठमाडौँ उपत्यकामा मागको एक तिहाई मात्र पानी आपूर्ति हुने गरेको छ । उपत्यकामा दैनिक करिब ४३ करोड लिटर पानीको माग भए पनि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले त्यसको एक तिहाईभन्दा कम अर्थात् करिब १३ करोड लिटर मात्र उत्पादन एव्म वितरण गर्छ । पुस, माघ र फागुनमा दैनिक १३ करोड लिटर पानी दिन सकिए पनि चैत र वैशाखमा भने दैनिक ११ करोड लिटर पानी मात्र वितरण हुने गरेको लिमिटेडले जनाएको छ ।

वर्षायाममा भने करिब १६ करोड लिटर पानी वितरण हुने गरेको छ । सुक्खा मौसम लागेसँगै काठमाडौँ उपत्यकामा खानेपानीको अभाव हुन्छ । पुसपछि उपत्यकाका स्रोतको पानी कम हुँदै जान थालेपछि खानेपानीको समस्या हुने गरेको छ । धारामा पानी नआएपछि उपत्यकावासी वैकल्पिक व्यवस्था गर्न बाध्य हुन्छन् । लिमिटेडले उपत्यकामा दुई लाख ३७ हजार धारा जडान गरेको प्रवक्ता प्रकाशकुमार राईले बताए । चोरीका धारा पनि बेला बेलामा भेटिने गरेको उनको भनाइ छ ।

काठमाडौँ उपत्यकामा सुन्दरीजल, महादेवखोला, नक्खु मुहान, शेषनारायण, हिटीटोल, सातमूल, कुटुरी, देवकी वासुकी, बल्खुखोला, मूलडोल, चारघरे, विष्णुमती, पाँचमाने, छहरे, अल्ले, महादेवखोलालगायत स्थानबाट पानी सङ्कलन गरेर प्रशोधन गरी वितरण हुने गरेको छ । यी स्रोतमध्ये सबैभन्दा बढी वाग्मती नदीको पानी सुन्दरीजलमा सङ्कलन गरी वितरण हुन्छ । प्राकृतिक स्रोतबाट सङ्कलन गरेको पानीले नपुग्ने भएपछि केही स्थानमा भूमिगत पानी निकालेर पनि वितरण हुने गरेको छ ।

हाल उपत्यकामा करिब ८० स्थानमा लिमिटेडले भूमिगत पानी निकालेर प्रशोधन गरी वितरण गर्छ । यसै वर्ष करिब एक करोड लिटर पानी भूमिगत स्रोतबाट थप गर्ने तयारीमा लिमिटेड लागेको प्रवक्ता राईले बताए। उपत्यकामा बर्सेनि करिब १० प्रतिशत पानीको माग थपिने गरेको एक अध्ययनले देखाएको छ । बढ्दो जनसङ्ख्या, घर–भवनलगायत भौतिक संरचनाको निर्माणमा वृद्धि र प्राकृतिक स्रोत सुक्न थालेपछि पिउने पानीको अभाव हुन थालेको बताइएको छ ।

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले लिमिटेडलाई ३० वर्षका लागि उपत्यकामा पानी वितरणको व्यवस्था गर्ने गरी सम्झौता गरेको छ । यसका लागि लिमिटेडले बोर्डलाई महसुलको दुई प्रतिशत शुल्क बुझाउनुपर्छ । बोर्डको सम्पत्तिको भने छुट्टै शुल्क बुझाउने व्यवस्था सम्झौतामा गरिएको छ । विसं २०६४ फागुन १ गतेदेखि बोर्डले लिमिटेडलाई उपत्यकामा पानी व्यवस्थापनको जिम्मेवारी दिएको हो ।

काठमाडौँ उपत्यकामा खानेपानीको समस्या समाधान गर्न खानेपानी संस्थानबाट छुट्याएर अलग व्यवस्था गरेपनि खास परिवर्तन भएको छैन । खानेपानीको समस्या समाधान हुन सकेको छैन । राजधानीको खानेपानी समस्याका लागि मेलम्चीकै पर्खाइमा अझै मानिस तड्पिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.