भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

घोडेपानी जोड्ने सडक कालोपत्र गरिँदै

घोडेपानी जोड्ने सडक कालोपत्र गरिँदै

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक कालोपत्रको तयारी भएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरबाट घार, खिवाङ, शिख हुँदै घोडेपानी नजिकैको बस्ती चित्रे जोड्ने १८ किलोमिटर ५४० मिटर सडक स्तरोन्नति र कालोपत्र हुन लागेको हो ।

पोखरेबगरबाट घार, खिवाङ, शिख हुँदै घोप्टेखर्कसम्मको १४ किलोमिटर सडक विस्तार, नाली निर्माण र ग्राभेल सकेर १० किलोमिटर दूरीमा कालोपत्रका लागि सबबेस राखिएको आयोजनाका सबइञ्जीनियर दवलसिंह तामाङले जानकारी दिनुभयो । “पोखरेबगरबाट घोप्टेखर्कसम्मको ढलान र सोलिङ गर्ने अधिकांश काम सकिएको छ”, उहाँले भन्नुभयो, “कालोपत्र गर्नुपर्ने ठाउँमा सबबेस राख्न र घोप्टेखर्कबाट चित्रेखण्डमा विस्तारको काम भइरहेको छ ।”

तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ, म्याग्दीले पोखरेबगर–चित्रे सडक स्तरोन्नति गर्न विसं २०७५ मङ्सिरदेखि आयोजना सुरु गरेको थियो । प्राधिकरण खारेज भएपछि यो आयोजना सङ्घीय सरकारको स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय पोखरालाई हस्तान्तरण भएको छ ।

कच्ची, साँघुरो र ग्रेड नमिलेको सडकलाई फराकिलो बनाएर ग्राभेल, ढलान, ग्यावियन पर्खाल, मेसेरेनरी पर्खाल, नाली, ह्युम पाइप, कल्भर्ट, सोलिङ बनाउन र ३.७५ किलोमिटर कालोपत्र गर्न विसं २०७५ मङ्सिर ९ गते रु २७ करोड ९१ लाख ३५ हजार २२० मा मोतीदान–जयमाता जेभीसँग सम्झौता गरेको थियो । कम्पनीका प्रतिनिधि रामप्रसाद बञ्जाडेले आगामी वैशाख महिनाभित्र आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्यसहित उपकरणका साथमा दैनिक १२० मजदुर परिचालन गरिएको बताउनुभयो ।

“शिख क्षेत्रमा सबबेस राख्ने काम भइरहेको छ, घारको धरमपानी, खिवाङ र मूलपानीमा कल्भर्ट निर्माण सुरु भएको छ”, उहाँले भन्नुभयो, “तापक्रम अनुकूल भएपछि फागुनदेखि कालोपत्र सुरु गर्नुअघि नै विस्तार, नाली र पर्खाल निर्माणको काम सक्ने हिसाबले उपकरण र मजदुर परिचालन गरेका छौँ ।” विसं २०७७ जेठमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना निर्माण व्यवसायीले पर्याप्त मजदुर र उपकरण परिचालन गर्न नसक्नु, आयोजना प्रमुख छिटो–छिटो परिवर्तन हुनु, घार खण्डमा सामाजिक समस्या, कोरोना महामारी, बन्दाबन्दी र निषेधाज्ञा, पहिराको समस्याले ढिलाइ भएको हो ।

सुरु भएदेखि आयोजनाका पाँच प्रमुख फेरिएका छन् । अन्नपूर्ण गाउँपालिका–५ का कार्यवाहक वडाध्यक्ष राजेश तिलिजाले पछिल्लो समय सडक निर्माणले तीव्रता पाएपछि आशा जागेको र उत्साहित बनाएको बताउनुभयो । मार्ग खुलेको एक दशकपछि सडक स्तरोन्नति हुन लागेको हो । म्याग्दीको गौरवको आयोजना मानिएको यो सडक यातायात मात्र नभएर पर्यटन, कृषिको विकासका लागि समेत उत्तिकै महत्व छ । सडक स्तरोन्नतिपछि घोडेपानीमा आन्तरिक पर्यटकको आगमन बढ्ने, शिख र घारका स्थानीयवासीलाई आवतजावतका साथै ढुवानी तथा कृषि, पशु र वनजन्य उत्पादन निकासीमा सहयोग पुग्ने अपेक्षा छ ।

 


Thali Mobile Pvt.Ltd.