काठमाडौँ । छठ पर्वको आज (मंगलबार, कार्तिक २३) दोस्रो दिन हो । छठको दोस्रो दिनलाई ‘खरना’ भनिन्छ । आजको दिन छठका व्रतालुहरूले नुहाएर चोखो भइ साँझपख खीर बनाएर चन्द्रमालाई चढाउँने प्रम्परा रहेको छ ।
खरनाको दिन व्रतालुहरु विहानदेखि नै निर्जला भएर बेलुका चन्द्रमालाई खीर तथा लौकाको तरकारी चढाएपछि भोजन ग्रहण गर्दछन् । आज व्रतालुहरले एक छाक मात्र भोेजन ग्रहण गर्दछन् । सोमबारदेखि व्रत बसेका व्रतालुले सप्तमीसम्म माछा, मासु, लसुन, प्याज, कोदो आदीको भोजन गर्नुहुन्न भन्ने जनविश्वास रहेको छ । कार्तिक शुक्ल चतुदर्शीदेखि सुरु भएको यो पर्व कार्तिक शुक्ल सप्तमीसम्म मनाइन्छ ।
छठमा विशेष गरी प्रकृतिको छैटौँ अंशबाट उत्पन्न भएकी भगवती देवी (छठी माई)को पूजा गरिन्छ । देवी भागवत्मा छठी देवीले पुत्र नभएकालाई पुत्र, पत्नी नभएकालाई पत्नी, धन नभएकालाई धन प्रदान गरेको कथाहरू उल्लेख गरिएको छ ।
छठलाई एउटा कठिन व्रत र उपवासको रूपमा हेरिन्छ । छठको व्रत बस्दा चोखोनिधो, संयम र ब्रह्मचर्य धर्मको पालना गरिएन भने छठ पूजाको फल नपाइने जनविश्वास रही आएको छ । कार्तिक शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य चढाइ छठ पर्वको व्रतलाई समापन गरिन्छ ।
