डोटी । डोटीको आदर्श गाउँपालिकामा रहेका ३३ विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । सरकारले विद्यालयका कर्मचारी र बाल विकास सहजकर्ताको तलब वृद्धि गर्ने निर्णय गरेपनि गाउँपालिकाले पालना नगरेको भन्दै आन्दोलनरत कर्मचारी तथा सहजकताृहरुले अनिश्चितकालका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको जनाइएको छ ।
यस जिल्लामा रहेका अन्य पालिकाले आफ्ना विद्यालयका शिक्षकहरुको सहमतिमा पारिश्रमिक बढाएको तर आदर्श गाउँपालिकाले बेवास्ता गरेको आन्दोलनरत कर्मचारीहरुले आरोप लगाएका छन् । गाउँपालिका शिक्षक महासङ्घले पनि कर्मचारी तथा सहजकर्ताको आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै सहभागिता जनाएको छ ।
आदर्श गाउँपालिका शिक्षक महासङ्घका अध्यक्ष गणेश दाहलका उनुसार सङ्घीय सरकारले निर्णय गरेबमोजिम स्थानीय सरकारका तर्फबाट प्रतिव्यक्ति रु सात हजार पारिश्रमिक बढाउनुपर्ने माग रहेको छ । उनले थपे उनीहरुका माग पूरा नहुञ्जेलसम्मका लागि गाउँपालिकामा रहेका ३३ वटै विद्यालय बन्द गर्ने निर्णय गरी तालाबन्दी गरिएको हो ।
नेपाल विद्यार्थी सङ्घका अध्यक्ष गणेश खड्काले शिक्षकबाट विद्यालय बन्द हुनु दुःखद् रहेको बताइन् । विद्यालय कर्मचारी तथा सहजकर्ताको माग चाँडो सम्बोधन गरी विद्यालय सञ्चालन गर्नुपर्ने उनको तर्क रहेको छ । कोरोना भाइरसका कारण विद्यार्थीको पढाइ पूरा हुन नसकी अन्योलता कायमै रहेका बेला पुनः यसरी विद्यालय बन्द हुनु दुःखत कुरा हो ।
गाउँपालिकाले तलब वृद्धिका विषयमा कुनै पनि आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।
