भक्तपुर । भक्तपुुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बैठकले यस वर्षको तिहार कार्तिक ७ मा लक्ष्मीपूजा, ८ मा म्ह पूजा र ९ गते किजा पूजा गरी मनाउन आग्रह गरेको छ ।
तलेजुका पुजारी नाइकेहरूसहितको उपस्थितिमा बसेको बैठकले तलेजुका पुजारी नाइकेहरूको सुझावअनुसार २०७९ कार्तिक ७ गते साँझदेखि औंसी तिथी सुरु हुने भएकोले उक्त दिन लक्ष्मीपूजा, २०७९ कार्तिक ८ गते साँझदेखि प्रतिपदा तिथि सुरु हुने र उक्त दिन साँझ ४ः५२ देखि साँझ ५ः२४ सम्म
सूर्यग्रहण लाग्ने भएकोले सूर्यग्रहणपश्चात उक्त दिन प्रतिपदा तिथिमा म्हा पूजा गर्ने र कार्तिक ९ गते किजापूजा गर्ने निर्णय गरेको हो । बैठकमा भक्तपुर नपाका उपप्रमुख तथा शिक्षा, संस्कृति तथा स्वास्थ्य समितिका सदस्य रजनी जोशी, सदस्यहरू रबिन्द्र ज्याख्व, योगेन्द्रमान बिजुक्छेँ,
कृष्णप्यारी भुजु, प्रप्रअ कृष्ण गिरी, तलेजुका पुजारीहरू प्रजेश राज राजोपाध्याय, नरेन्द्रप्रसाद जोशी, महेश कर्माचार्य, पद्मलोचन कर्माचार्य, सिद्धिवीर कर्माचार्य र ज्ञानेन्द्रकृष्ण जोशीको उपस्थिति रहेको थियो ।
