साउन २०७७ भक्तपुर । उपत्यकामा कोभिड १९ को संक्रमण दिन प्रतिदिन बढिरहेको विषम् परिस्थितिमा धेरै मान्छे जम्मा हुने खालका कुनै पनि गतिविधि सञ्चालन नगर्न/नगराउन भक्तपुर नगरपालिकाले अपिल गरेको छ ।
सहकारी संस्थाहरुको साधारणसभा सञ्चालनबारे अन्तरक्रिया कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले यस्तो अपिल गरेका हुन । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को भक्तपुर नगर सहकारी समन्वय उपसमितिको आयोजनामा आ.व. २०७७-०७८ को साधारणसभा सञ्चालनबारे नगर क्षेत्रमा अवस्थित सहकारी संस्थालाई जानकारी र राय सुझाव लिने उद्देश्यले आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा प्रमुख प्रजापतिले सहकारीको प्रसंसा गरे ।
उनले लकडाउनको अवधिभर भक्तपुरका सहकारी संस्थालगायतका संघ संस्थाहरुले गरेको सहयोगप्रति धन्यवाद दिदै नपाले संक्रमणको जोखिमलाई ध्यानमा राखी ऐतिहासिक तथा सांस्कृतिक जात्रा तथा पर्वहरु स्थगित गरेको बारे पनि स्पष्ट पारे । विकास निर्माण तथा नियमित कार्यहरुमा मितव्ययिता अपनाइरहेको जानकारी दिनुहुँदै नगर प्रमुख प्रजापतिले रोजगारीको समस्या भएका बेला सहकारी संस्थाले सदस्यहरुलाई आत्मनिर्भर बनाउने खालका तालिमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
शैक्षिक संस्थाहरु बन्द रहेको यो अवस्थामा विद्यालयहरुले अनलाइन तथा भर्चुअल कक्षा सञ्चालन गरी प्रविधिमैत्री शिक्षा प्रदान गरिरहेको चर्चा गर्दै व्यक्ति भन्दा समाज अगाडि हो भन्ने मान्यताअनुरुप अगाडि बढ्नपर्ने आवश्यकता औल्याए । कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्णगोविन्द लाखाजुले कोभिड १९ को प्रभावका कारण सहकारी संस्थाहरुको सहकारी ऐनबमोजिम साधारणसभा गर्ने सम्बन्धमा अन्योल सिर्जना भएको बताए ।
सरकारले लगाएको बन्दाबन्दीको समयमा पनि संघले भक्तपुर नपा र प्रशासनसँग समन्वय र सहकार्य गरी सचेतना कार्यक्रमहरु सञ्चालन गरेको जानकारी दिए । कार्यक्रमका नगर सरकारी समन्वय उपसमितिका संयोजक जगनाथ प्रजापति, व्यवस्थापक बालकृष्ण ध्वजु, नगर सहकारी समन्वय उपसमितिका सदस्य राम सिख्व र सत्यनारायण पक्काले धारणा राखेका थिए ।
साधारणसभा सञ्चालनबारे भएको छलफलमा सहभागी भक्तपुर नपाभित्रका विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरुले कोभिडको महामारीबीचमा धेरै भीड जम्मा हुने किसिमले साधारणसभा सञ्चालन गर्नु उपयुक्त नहुने र सकभर यस आर्थिक वर्षको लागि स्थगित गर्नुपर्ने, सहकारी संस्थाहरुले सदस्य संख्याको आधारमा क्षेत्रगत रुपमा साधारणसभा सञ्चालन गर्न सकिने र आर्थिक मितव्ययिता र सामाजिक दुरी कायम गरी गर्न सकिनेलगायतका धारणा व्यक्त गरेका थिए ।
