काठमाडौँ, १५ चैत्र । नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको अध्यक्षमा खेम तिरूवा निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा भएको संस्थाको पाँचौँ अधिवेशनले उनलाई निर्विरोध चयन गरेको हो ।
यसैगरी वरिष्ठ उपाध्यक्षमा भुपेन्द्र राई, उपाध्यक्षमा वीरबहादुर विक र महासचिवमा हेम राई निर्वाचित भएका छन् । सचिवमा रञ्जित लकान्द्री, कोषाध्यक्षमा कबीरमान सुनुवार, सह-कोषाध्यक्षमा कमल बराइली चयन भएका छन् ।
सदस्यहरूमा रमिता सुनार, रमेश विश्वकर्मा, राजकुमार सुनुवार, विश्वास शंकर, हर्कबहादुर शंकर, रञ्जित शंकर, स्मृति गदाल र रमेश विश्वकर्मा (ख) रहेका छन् । अधिवेशनले १५ सदस्यीय कार्यसमितिलाई नै निर्विरोध निर्वाचित गरेको हो ।
करिब १० वर्षअघि काठमाडौँ उपत्यकामा सुनचाँदी व्यवसाय गरिरहेका युवाहरूको पहलमा मञ्च स्थापना भएको थियो । यस संस्थाले सुनचाँदी व्यवसायीका हकहितका विषयमा काम गर्दै आएको छ र प्रदेश तथा जिल्लास्तरमा समेत फैलिन थालेको छ । नवनिर्वाचित अध्यक्ष खेम तिरूवाले व्यवसायीहरूको हकहित र बजारको शुद्धताका लागि विशेष कार्ययोजना ल्याउने बताएका छन् ।
उनले विलासिता कर, नेपाल–भारत सीमामा भन्सार दरको असमानता र गुणस्तरहीन मिसावट जस्ता चुनौतीलाई प्राथमिकतामा राखेर समाधान खोज्ने बताए । तिरूवाका अनुसार राज्यले व्यवसायीका जायज माग सम्बोधन गर्न नसकेको गुनासो छ । नेतृत्व तहमा राजनीति हावी भएसँगै व्यवसाय धराशायी हुने खतरा बढेको उनले औँल्याए । ‘व्यवसायीको नेतृत्वमा राजनीति नहावी होस् र व्यवसायलाई राजनीतिक छत्रछायाबाट मुक्त राख्नुपर्छ,’ उनले भने ।
अध्यक्ष तिरूवाले आन्तरिक विवाद समाप्त भएको र शिक्षित युवाहरूको प्रवेशले संगठनलाई बलियो बनाएको दाबी गरे । नयाँ सरकार र अर्थमन्त्रीबाट व्यवसायीका माग सम्बोधन हुनेमा आशा व्यक्त गरिएको छ । निवर्तनमान अध्यक्ष डम्बर बराइलीले संस्थालाई कठिन परिस्थितिबाट फेरि उठाउन सफल भएको बताए । कार्यक्रममा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही र राष्ट्रियसभा सदस्य घनश्याम रिजालले सुनचाँदी व्यवसायीका मुद्दा संसद्मा उठाउने प्रतिबद्धता जनाएका थिए ।
