भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

पचास वर्षदेखि पौवामा दुग्धजन्य परिकार उत्पादन

पचास वर्षदेखि पौवामा दुग्धजन्य परिकार उत्पादन

काभ्रेपलाञ्चोक । दुग्ध विकास संस्थानले विगत ५० वर्षदेखि दूर्गम मानिने रोशी गाउँपालिका–११ जुगेपानीस्थित पौवामा दुग्धजन्य परिकार उत्पादन गर्दै आएको छ । संस्थानले पौवामा दुग्ध पदार्थ उत्पादन तथा बिक्री वितरण केन्द्र स्थापना गरी चिजलगायत दुग्धजन्य परिकार उत्पादन गरी सङ्कलन गर्दै आएको हो । विसं २०२७ मा काभ्रेपलाञ्चोकको साविक भिमखोरी गाविस–१ मा स्थापित उक्त केन्द्रले चीज, मखन, पनिर, नौनीलगायत दुग्धजन्य परिकार उत्पादन गरी मासिक रु १५ लाखको कारोबार गर्दै आएको जनाइएको छ ।

यसरी उत्पादित सामग्री काठमाडौँस्थित संस्थानको केन्द्रीय कार्यालय लैनचौरमा बिक्री–वितरणका लागि पठाइँदै आइएको केन्द्रका कर्मचारी जीवन श्रेष्ठले बताए । उक्त केन्द्रले पौवा तथा आसपासका उच्च पहाडी गाउँबाट दूध सङ्कलन गर्दै आएको छ । केन्द्रमा भिमखोरीको पौवा, कातारचे, केराबासी, सोरे तथा छिमेकी जिल्ला सिन्धुलीको रामभेडालगायतका गाउँ र आसपासका कृषि अनुसन्धान सहकारी, धर्मेश्वर दुग्ध सहकारी, महाभारत कृषि सहकारी र स्थानीय सौभाग्य महिला सहकारीलगायत आठ सहकारी संस्थाबाट दैनिक ७५० देखि ८०० लिटरसम्म दूध सङ्कलन हुने गरेको श्रेष्ठले जानकारी दिए ।

केन्द्रबाट दैनिक ११५ किलो पनिर, ७५ किलो चीज, १८ किलो हाराहारीमा मखन उत्पादन हुने गरेको जनाइएको छ । पौवा रोशीको उच्च पहाडी भेग भएकाले सबै क्षेत्रमा यातायातका साधनको पहुँच नभएकाले केन्द्रमा स्थानीय तथा खच्चडबाट दूध सङ्कलन गरिँदै आइएको छ । “दुध ढुवानी गर्ने, स्थानीय व्यक्ति र खच्चरधनीलाई सहकारीमार्फत मासिक ज्याला दिने गरिन्छ”, केन्द्र प्रमुख प्रकाश केसीले भन्नुभयो । उहाँका अनुसार यहाँ उत्पादित परिकार गुणस्तरीय भएकाले स्थानीयले समेत खरिद गर्ने गरेका छन् ।

केन्द्र स्थापनापछि स्थानीय गाउँमा गाई–भैँसी पाल्ने कृषकको सङ्ख्या बढेको कृषक सुरेश कर्माचार्यले बताए । “यस भेगमा उत्पादित दूध कहिल्यै खेर जाँदैन, सबै केन्द्रले लिने गरेको छ, यसकारण पहिलेभन्दा धेरै कृषकले गाई–भैँसी पाल्दै आएका छन्”, उहाँले भन्नुभयो । उहाँका अनुसार केन्द्रले दुध लिँदा दुर्गमका कृषकलाई गाईभैँसी पालेर आर्थिक उपार्जनमा निकै ठूलो मद्दत पुयाइरहेको छ । एघार रोपनी जमिनमा अवस्थित केन्द्रका छ भवन छन् । केन्द्रका विभिन्न भौतिक संरचना जीर्ण बन्दै गएकाले मर्मत–सम्भारका एवं पुनःनिर्माणका लागि केन्द्रीय कार्यालयमा बजेट माग गरिएको प्रमुख केसीले बताए ।

 


Thali Mobile Pvt.Ltd.