भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

पर्वतमा कागतीखेती अभियान

पर्वतमा कागतीखेती अभियान

पर्वत । गाउँघरमा खेतबारी बाँझो हुँदै गएपछि पर्वतको एक गाउँमा भने कागतीखेती अभियान सुरु गरिएको छ । फलेबास नगरपालिका–८ अर्चले गाउँमा १२ हेक्टर जमिनमा पाँच हजार बिरुवा लगाउने योजनासहित कागतीखेती सुरु गरिएको हो । खेतीयोग्य जमिन बाँझो बन्दै गएपछि त्यसलाई आयआर्जनका लागि प्रयोग गर्न कागतीखेती गर्न लागिएको हो । ग्रामीण विकासविज्ञ डा योगेन्द्र रिजालसहित तीन जनाको लगानीमा कागतीखेती सुरु भएको छ ।

सहरमा सामान्य जागिर खोज्दै हिँड्नुको सट्टा त्यही जग्गालाई उपयोग गर्न सके आम्दानी गाउँमै सम्भव छ भन्ने विश्वासका आधारमा खेती सुरु गरिएको ग्रामीण विकासविज्ञ डा रिजालले बताउनुभयो । आफूले सन् २०१३ मा ग्रामीण विकास विषयमा विद्यावारिधि गरेपछि पनि बजारमा बसेर जागिरको खोजीमा हराउनुभन्दा ग्रामीण क्षेत्रमा पनि सम्भावना देखाउन चाहेको उहाँको भनाइ छ । “पुर्खाले जोडिदिएको उत्पादनको महत्वपूर्ण साधन ‘खेतीयोग्य जमिन’ खेर फाल्ने, आफूसँग भएको जग्गा जस्तो अमूल्य सम्पत्ति नदेख्ने अनि जागिर पेशा केही नभएको जनाउँदै चिन्ता गर्नेहरू धेरै भएकाले यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न सक्छु भन्ने विश्वास पलाएको छ”, उहाँले भन्नुभयो । डा रिजालले छिमेकी तथा देवीप्रसाद तिमिल्सिना र कमल रिजालको सहकार्यमा ‘अर्चले एग्रो इन्डस्ट्रिज प्राइभेट लिमिटेड’ नामको कम्पनी दर्ता गरे खेती सुरु गरेको जानकारी दिनुभयो ।

डा रिजालका अनुसार गत माघ १ गतेबाट सुरु गरिएको कागतीखेती अभियानमा पाँच वर्षसम्ममा रु डेढ करोडको लगानी गर्ने योजना छ । करिब १२ हेक्टर जमिनमा पाँच हजार बिरुवा रोप्ने र कागतीको राष्ट्रिय आवश्यकतामा अलिकति भए पनि टेवा दिएर आयात प्रतिस्थापनमा सहयोग पु¥याउने योजना उहाँले सुनाउनुभयो । सुन कागती–१ जातको कागतीखेती गरिएको छ । यो जातको कागतीले राम्रो उत्पादन दिने, यस ठाउँमा हावापानी र उचाइ पनि मिल्ने भएका कारण यसको खेती गरिएको हो । यो खेतीबाट सात वर्षपछि वार्षिक २०० टन कागती उत्पादन गर्ने लक्ष्यसमेत राखिएको छ । यस वर्ष कलमी बिरुवा लगाउने भएका कारण तीन वर्षपछि लगानी फिर्ता आउन थाल्ने छ । उत्पादित कागतीलाई काठमाडौँ, पोखरालगायतका ठूला सहरका व्यापारीसँगको सहकार्यमा बजारमा पठाउने अर्चले एग्रो इन्डस्ट्रिज प्रालिको योजना छ ।

कागतीको बोट वरपर अलिकति भाग छाडेर कोदो, अदुवालगायतका खेती गरेर जमिनको सदुपयोग गर्ने योजना रहेको रिजालले जानकारी दिनुभयो । यसो गर्दा कागती बगैँचा सफा देखिने, खनजोतका कारण झारपात बढ्न नपाउने र माटो पनि रुखो हुन नपाउने भएकाले कागतीलाई हानी नपु¥याउने बाली लगाउने योजना कम्पनीको छ ।

 


Thali Mobile Pvt.Ltd.