भर्खरै : Sorry, your browser does not support inline SVG.

पर्सा र बारामा हैजाविरुद्ध खोप अभियान

पर्सा र बारामा हैजाविरुद्ध खोप अभियान

मुख्यबुँदा

अभियानको थालनी: पर्सामा स्वास्थ्य मन्त्रालयद्वारा हैजाविरुद्ध खोप अभियान शुरू।

बारामा सुरु: अभियान भोलिदेखि बारामा सुरु हुने।

कभर क्षेत्र: पर्साका १४ वटै पालिका र बाराका ६ पालिकामा सञ्चालन।

लक्षित समूह: एक वर्षमाथिका सबै व्यक्तिहरू।

खोप उपलब्धता: बारा–पर्साका लागि १० लाख १८ हजार खेप।

अभियान अवधि: मुखबाट खुवाइने खोप कात्तिक २ गतेसम्म।

खोप प्रभाव: ६ महिनासम्म हैजाबाट सुरक्षा, महामारी रोक्न प्रभावकारी।

अन्तर्राष्ट्रिय सहयोग: WHO, UNICEF, रेडक्रस, ICG ले खोप उपलब्ध गराएको।

पहिलो पुष्टि: भदौ ६ गते वीरगञ्ज मुर्लीटोलमा पहिलो हैजा सङ्क्रमण पुष्टि।

काठमाडौँ, २६ असाेज ।  सरकारले पर्सामा हैजाविरुद्धको खोप अभियान शुरू गरेको छ। आज पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीलाई खोप खुवाएर अभियानको थालनी गरिएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार बारामा भोलिदेखि खोप अभियान सुरू हुनेछ।

पर्साको १४ वटै पालिका र बाराको जितपुरसिमरा, कलैया उपमहानगरपालिका, परवानीपुर, प्रसौनी, फेटा र विश्रामपुर गाउँपालिका गरी कुल २० वटा पालिकामा खोप अभियान सञ्चालन हुनेछ। हैजा प्रभावित क्षेत्रमा एक वर्षमाथिका सबैलाई खोप दिने स्वास्थ्य मन्त्रालयको निर्णय छ। गत भदौ ६ गते पहिलो पटक वीरगञ्जको मुर्लीटोलमा एक बिरामीमा हैजा सङ्क्रमण पुष्टि भएको थियो। त्यसपछि पर्सा र बाराका विभिन्न स्थानमा बिरामी भेटिएका छन्।

बारा–पर्साका लागि १०,१८,१०० खेप खोप उपलब्ध भएको छ। सरकारको लक्ष्य एक वर्षमाथिका १० लाख १८ हजार जनालाई खोप दिनु हो।

मुखबाट खुवाइने यो खोप अभियान कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ। स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा. अभियान गौतमले भने, “हैजाविरुद्ध खोप लिन पाउनु एउटा अवसर हो। सबैले खोप लिनुपर्छ। यो खोप अर्को वर्ष आउन सक्ने महामारी रोक्न प्रभावकारी हुनेछ। खोपले ६ महिनासम्म हैजा लाग्न नदिने प्रतिरोध क्षमता विकास गर्छ।”

विश्व स्वास्थ्य सङ्गठन (WHO), UNICEF, रेडक्रस लगायतको समन्वयमा बनेको अन्तर्राष्ट्रिय समन्वय समूह (ICG) ले खोप उपलब्ध गराएको हो।

 


Thali Mobile Pvt.Ltd.