गण्डकी ।
‘नैन ताल
घुमी आयो रेल
आँखामा लाउने कालो गाजल
बुलबुलेमा तेल…’
भनिन्छ, पोखरा ‘लाहुरेको सहर’ हो । मध्यसहरमा मङ्गलबार साँझ लाहुरेकै गीत गुञ्जियो, ‘नैनताल’ । जसले गोर्खाहरूको कथा भन्छ । गोर्खा सैनिकका दुःखवेदनाबाट जन्मेको गीतलाई नेपथ्यका गायक अमृत गुरुङले पोखरेलीमाझ सुनाए ।प्रदर्शनी केन्द्रमा ठेलमठेल दर्शकबीच गुरुङले झण्डै तीन घण्टा गायकीको जादु चलाए । ‘मानवता लागि साङ्गीतिक यात्रा’मा निस्केको नेपथ्य टोलीले मानवसेवा आश्रमका लागि आफ्नो ‘लाइभ कन्सर्ट’ समर्पित गरेको थियो ।सधैँझैँ जिन्सको पहिरनमा उस्तै उर्जा, शैली र हाउभाउमा प्रस्तुत भएका गायक गुरुङले अन्तिमसम्मै दर्शकलाई कन्सर्टमा रोक्न सफल भए ।
उनले गीत आफैँमात्र गाएनन्, दर्शकलाई पनि गला मिलाउन बाध्य तुल्याए । ताली र वाहीवाहीसँगै दर्शकले नाचेर पनि साथ दिए ।मानवसेवा आश्रमको भवन निर्माण सहयोर्ग नेपथ्यलाई जोड्न पाएकामा गायक गुरुङले आफूहरूलाई धन्य ठाने । ‘सहयोगापेक्षी सडक मानवमुक्त नेपाल’ बनाउने अभियानमा सबैलाई हातेमालो गर्न उनले अनुनय गरे ।“यस्तो सुन्दर ठाउँमा जन्मन पाएकामा आमा तिम्रो कोखलाई धन्यवाद’ भनेका गुरुङले हरेकले एकपटक देश दर्शनमा जानुपर्ने उल्लेख गरे । गीतको खोज र सङ्कलनकै क्रममा धवलागिरि क्षेत्रमा हिमाल–पहाड चहारेका उनले गीतबाटै दर्शकलाई पनि उतै लगे ।
‘तकसेरा झरौँला, डम्चनमा बसौँला
ढोरपाटनमा घरजम गरौँला
शिरफूल शिरैमा, वनफूल वनैमा
हिउँको फूल धौलाश्रीमा…’
तक्सेरा रुकुमपूर्व पर्छ भने र ढोरपाटन बागलुङमा । गीतमा उल्लेख ‘धौलाश्री।।।’ म्याग्दीको हिमाल हो । हिमाल, पहाड, तराई जहाँ गयो त्यहीँको ठाउँले आफूलाई लोभ्याउने गरेको सुनाएका गुरुङ गीतमार्फत् एकैछिनमा पूर्व पुगे ।
‘कोसीको पानी यो जिन्दगानी सललल जाइजाने हौ हजुर
आमाको कोखमा बासमात्रै लिएँ नि कुन देशको मरण हौ हजुर…’
एकातिर गीत र अर्कातिर बीचबीचमा सन्देशप्रद विचार राखेर गुरुङले दर्शकको मन जितिरहे । राजनीतिज्ञ र प्रशासकलाई उनले आग्रह गरे– “युवालाई विदेश पयालयन हुनबाट रोकौँ, रोजगार सिर्जना गरेर यहीँ काम दिऔँ ।” गुरुङले कोही पनि नेपाली रोजरोटीका लागि विदेश जान नपरोस् भनेर काम गरे ।गुरुङले नेपथ्यका चर्चित गीत ‘रेशम’ ‘तालको पानी’, ‘जोगले हुन्छ’, ‘जोमसोमे बजार’, मै ‘नाचे छम्छमी’लगायत गाए । उनलाई ड्रमसेटमा धु्रव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले साथ दिएका थिए ।
बत्तीस वर्षअघि जन्मेको नेपथ्य देश–विदेशमा प्रसिद्धि कमाएको लोक रक ब्याण्ड हो । ब्याण्डले यसपालि मानवसेवा आश्रमको आयोजनामा देशमा प्रमुख सहरमा लाइभ कन्सर्ट गरिरहेको छ । पोखरामा पनि आश्रमकै भवन निर्माणमा सहयोग जुटाउने उद्देश्यले कन्सर्ट राखिएको हो ।पोखरा महानगरपालिका–२५ हेम्जामा आश्रमको भवन निर्माणाधीन अवस्थामा छ । रु १० करोड लाग्ने सो भवनका लागि बजेट अभाव भएपछि आश्रम व्यवस्थापनले नेपथ्यसँग मिलेर साङ्गीतिक अभियानको जुक्ति निकालेको थियो । त्यसकै लागि टिकट किनेर सयौँ दर्शकहरू कन्सर्टमा पुगेका थिए ।मानवता प्रवद्र्धन महाअभियामा लागेको आश्रमले सरकारसँग मिलेर सडक मानवमुक्त देश घोषणा गर्ने लक्ष्य लिएको छ । सोही उद्देश्यका लागि विभिन्न जिल्लामा अहिले आश्रमका भवन बनिरहेका छन् । प्रदेश राजधानी पोखरासँगै बागलुङमा पनि आश्रमको भवन निर्माणाधीन अवस्थामा छ ।
