भक्तपुर । कोभिड १९ जोखिमका कारण बन्द रहेका विद्यालय पुस १ गते देखि सञ्चालन हुने भएका छन् । नगर शिक्षा समितिको बैठकले संचालन गर्ने निर्णय गरेको हो ।
हालका दिनमा विद्यालयहरूले अनलाइन तथा भर्चुअल विधिबाट वैकल्पिक कक्षाहरू सञ्चालन गरिरहेकोमा विद्यालय सञ्चालकलगायत सरोकारवालाहरूको सुझाव र नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७ बमोजिम स्वास्थ्य मापदण्ड पालना गर्ने गरी आलोपालो चरणबद्ध कक्षा सञ्चालन गर्ने भएको हो ।
विद्यालयले हाल सञ्चालन गरिरहेको वैकल्पिक शिक्षण विधिलाईसमेत निरन्तरता दिने निर्णय भएको छ । २०७७ पुस १ गतेदेखि नै सञ्चालन गर्ने गरी नगरभित्रका सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयहरूमा विद्यालय सञ्चालनसम्बन्धी प्रस्तावनासहितको कार्ययोजना भक्तपुर नगरपालिका शिक्षा शाखामा पेश गरी कक्षा ८, ९ र १० को कक्षा आलोपालो गरी सञ्चालनको सुरूवात गर्ने निर्णय गरेको छ ।
विद्यार्थी सङ्ख्या १०० भन्दा कम भएका सबै सामुदायिक तथा संस्थागत विद्यालयको हकमा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड कार्यान्वयन गरी विद्यालय सञ्चालनसम्बन्धी प्रस्तावनासहितको कार्ययोजना भक्तपुर नगरपालिका शिक्षा शाखामा पेश गरी कक्षा सञ्चालन गर्ने निर्णय गरेकाे हाे ।
कक्षा सञ्चालन सम्बन्धमा विद्यालयहरूबाट विद्यालय व्यवस्थापन समिति बैठक, शिक्षक–कर्मचारी बैठक, विद्यार्थी र अभिभावकसंग सरसल्लाह गरेको बैठकको निर्णयको फोटोकपीसहित यही २०७७ मङ्सिर मसान्तभित्र विद्यालय सञ्चालनसम्बन्धी प्रस्तावनासहितको कार्ययोजना भक्तपुर नगरपालिका शिक्षा शाखामा पेश गर्नुपर्ने छ ।
विद्यालय सञ्चालन अन्योल भइरहेको बेला नगरपालिकाले संस्थागत र सामुदायिक विद्यालयका प्रतिनिधिहरु, शिक्षक, विद्यार्थी तथा अभिभावक संघका प्रतिनिधिहरूसँग पनि विद्यालय सञ्चालन के कसरी गर्नु उपयुक्त हुने भनी चरणबद्ध छलफल गरी सुझावहरु संकलन गरेको थियो । प्राप्त सुझावहरुको आधारमा सो निर्णय गरेको नगरपालिकाले जनाएको छ ।
