भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

बिरामीलाई घरमै उपचारको व्यवस्थापन गर्दै चौँरीदेउराली

बिरामीलाई घरमै उपचारको व्यवस्थापन गर्दै चौँरीदेउराली

बनेपा । कोभिड–१९ को सङ्क्रमणदर आफ्नो गाउँपालिकामा पनि ह्वात्तै बढेपछि पालिकाभित्रका कोरोना सङ्क्रमित बिरामीको अवस्था बुझ्न गाउँपालिका अध्यक्ष दीननाथ गौतम घरदैलोमा पुग्नुभएको छ । होमआइसोलेसन र अस्पताल आइसोलेसनमा रहेका बिरामीको अवस्था बुझ्ने र आवश्यक स्वास्थ्य सामग्री जुटाउने कार्यमा खटिरहेको गाउँपालिकाले जनाएको छ । काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौँरीदेउराली गाउँपालिकाभित्र होमआइसोलेसनमा बसिरहनुभएकाका लागि गाउँपालिकाले सक्ने आवश्यक सामग्री जुटाउने र सहयोगी दातासम्म पनि आग्रह गर्दै सेवामा समर्पित हुने गरेको गाउँपालिका अध्यक्ष गौतमले बताउनुभयो ।

अध्यक्ष गौतम स्वास्थ्यकर्मी र औषधि बोकेर वडा नं ७ मादनकुँडारी र वडा नं ६ कात्तिकेदेउरालीका होमआइसोलेसनमा रहेका बिरामी भेट्न पुग्नुभएको छ । दुवै वडामा गरेर २८ सङ्क्रमित बिरामी होमआइसोलेशनमा उपचाररत हुनुहुन्छ । भेटघाटको क्रममा बिरामीले सबै प्रकारको स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गरेको पाइएको र बिरामी सामान्य अवस्थामा रहेको पाइएको छ । भेटमा गौतमले नियमलाई कडाइपूर्वक पालना गर्न, नआत्तिन, रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने खालको खानेकुरामा बढी जोड दिन अनुरोधसमेत गर्नुभएको छ । सो अवसरमा उहाँले बिरामीका लागि गाउँपालिकाले गर्नुपर्ने सबै प्रकारको सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।

कोरोना सङ्क्रमण बढेपछि आफू सबै वडामा पुगेर सङ्क्रमितको अवस्था बुझ्ने र आवश्यक सहयोगलाई अगाडि बढाइरहेको अध्यक्ष गौतमले बताउनुभयो । “हिजोआज स्वास्थ्यकर्मीसहितको टोली लिएर आफँै बिरामीको अवस्था बुझ्न सबै वडामा पुग्ने प्रयत्न गरिरहेको छु”, उहाँले भन्नुभयो, “नपुगेको अवस्थामा स्वास्थ्यकर्मी वा बिरामीलाई फोन गरेर भए पनि अवस्था बुझ्ने गरेको छु ।” पछिल्लो समयमा छिमेकी जिल्ला रामेछापबाट दोरोम्बा र सुनापति गाउँपालिकाका सङ्क्रमितको उपचारका लागि धुसेनी शिवालय प्राथमिक अस्पतालमा उपचारका लागि ल्याउने गरिएको छ ।

धुसेनीमा उपचारका लागि ल्याइएको चार बिरामीमध्ये दुई कोरोना सङ्क्रमण मुक्त भएर घर फर्किसक्नुभएको छ भने दुई उपचाररत हुनुहुन्छ । सङ्क्रमित रहेका बिरामीलाई सेवा प्रदान गर्नका लागि गाउँपालिकाले दैनिकरूपमा प्रत्येक बिरामीलाई भेट्न र उनीहरुको स्वास्थ्य जाँच गर्न स्वास्थ्यकर्मी परिचालन गरेको छ । औषधि खुवाउन स्वास्थ्यकर्मी आफैँ होमआइसोलेसनमा पुग्ने गर्छन् । दैनिक स्वास्थ्यकर्मी आफ्नो आइसोलेशनकक्षमा जाँच गर्न र औषधि खुवाउन आएपछि बिरामीको मनोबल बढ्नुका साथै खुशी भएको पाइएको उहाँले बताउनुभयो ।

उपचारका क्रममा अक्सिजनको आवश्यक परे गाउँपालिकाले सङ्क्रमितका लागि अक्सिजनसहितको सिलिण्डर समेत तयारी अवस्थामा राखेको जनाएको छ । बिरामीलाई अक्सिजन दिनै परे मात्र अस्पतालमा ल्याउने गरेको अध्यक्ष गौतमको भनाइ छ । गाउँपालिकाले वडा नं २, ३ र ५ मा गरी तीनवटा अस्पतालमा अक्सिजनसहितको १८ शय्याको आइसोलेशन बनाएर सेवा प्रदान गरिरहेको छ । सो क्रममा अहिले गाउँपालिकाले घरको आइसोलेसनमा नै बसेर उपचाररत रहन सुझाव दिएको र अस्पतालमा चाहिँ अक्सिनजन दिनैपर्ने बिरामीलाई मात्र भर्ना गर्ने गरिएको छ ।

बढी समस्या परेकालाई आइसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्नेलाई भने अरु अस्पतालमा सिफारिश गर्ने गरेको र अहिलेसम्ममा तीन सङ्क्रमितलाई सिफारिश गरिएको अध्यक्ष गौतमले बताउनुभयो । बुधबार मात्रै पाँच कोरोना सङ्क्रमण मुक्त भएर घर फर्किसकेको धुसेनी शिवालय प्राथमिक अस्पतालले जनाएको छ । गाउँपालिकाभरिमा बुधबारसम्ममा सक्रिय सङ्क्रमित सङ्ख्या ६० रहेको स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.