काठमाडौं । भारतले आफ्नो नयाँ संसद् भवनमा राखिएको भित्ते चित्रमा अंकित भौगोलिक पहिचान प्रति पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आपत्ति व्यक्त गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै उद्घाटन गरेको संसद् भवनमा अंकित भित्तेचित्रमा नेपालको कपिलवस्तु र लुम्बिनीलाई पनि भारतीय भूमि झै दर्शाउने गरी अंकित गरे पछि भट्टराईले आपत्ति व्यक्त गरेका हुन ।
उनले नेपाली भूमि लुम्बिनी र कपिलवस्तुलाई नै भारतीय भूमि झै उल्लेख गर्ने विषयले दुई देशका बिचमा आपसी कूटनीतिक सम्बन्धमा दरार आउनसक्ने जनाएका छन् ।
उनले भने ‘भारतको भर्खरै उद्घाटन गरिएको नयाँ संसद् भवनमा ‘अखंड भारत’ को विवादास्पद भित्ते चित्रले नेपाललगायत छिमेकीमा अनावश्यक र हानिकारक कूटनीतिक विवाद निम्त्याउन सक्छ, यसले भारतका निकटतम छिमेकीहरू बीचको द्विपक्षीय सम्बन्धलाई पहिले नै बिगार्ने विश्वासको घाटालाई अझ बढाउने सम्भावना छ ।’
भारतीय राजनीतिक नेतृत्वले यस भित्तेचित्रको वास्तविक अभिप्राय र प्रभावलाई समयमै खोलेर सञ्चार गर्नु बुद्धिमानी हुने उनको भनाइ छ ।
