भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

भैँसी पालेर नामसँगै दाम कमाउँदै दाङका किसान डाँगी

भैँसी पालेर नामसँगै दाम कमाउँदै दाङका किसान डाँगी

दाङ । धेरै पढेपछि जागिर खानुपर्छ भन्ने सोच बोकेका युवालाई दाङका एक महिलाले गतिलो सन्देश दिएका छन् ।दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौराकी ४३ वर्षीया वकी डाँगी व्यावसायिक भैँसीपालन थालेका छन् । भैँसीपालन व्यावसाय शुरु गरेकी उहाँ अहिले नामसँगै दाम कमाउँदै आएका हुन् । व्यावसायिक भैँसीपालनबाट राम्रो आम्दानी गर्दै आएकी उहाँसँग अहिले जिल्लाका अन्य पशुपालक किसानले समेत सुझाव र सल्लाह लिन आउने गरेका छन् । छोटो समयमा एक सफल महिला उद्यमीका रुपमा आफूलाई चिनाउन सफल भएकी डाँगी विगत आठ वर्षदेखि व्यवसायिक भैंसीपालनमा रमाउँदै आएकी छन् । उहाँ आफूसँगै घरपरिवारका दुई सदस्यसहित भैँसीपालनमा संलग्न छन् । अहिले उहाँले आफ्नो भौंसीफार्ममा दुई जनालाई रोजगारी समेत दिएका छन् ।

पशुपालन पेशाबाट सन्तुष्ट हुनुभएका डाँगीले भन्नुभयो, “यो पेशाबाट वार्षिक करिब रु सात लाख बचत गर्न सफल भएको छु, यसलाई सन्तोष नै मान्नुपर्छ ।” उहाँको दिनचर्या बिहानको मिर्मिरे उज्यालोदेखि सुरु हुन्छ । प्रायःभैँसीका पाडापाडीको स्याहारसुसारमा उहाँ धेरै व्यस्त देखिनुहुन्छ । परम्परागत रुपमा खेतीपाती गर्दै आएकी डाँगीले विसं २०७० मा शुभ भैँसी फार्म दर्ता गरी व्यावसायिकरुपमा नै भैँसीपालनको सुरुआत गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सुरुमा रु एक लाखमा एक उन्नत जातको भैँसी खरिद गरी व्यवसाय गरेका हौँ । अहिले भने फार्ममा सानाठूला गरी ३८ वटा भैँसी छन् ।”तीमध्ये १० वटा दुना रहेका छन् । ती भैँसीले दैनिकरुपमा ८० देखि ९० लिटर दूध दिने गरेको र उक्त दूधलाई तुलसीपुर बजारमा आफैँले डेरी उद्योग सञ्चालन गरी बिक्री गर्ने गरेको र केही दूध आफ्नै फार्मबाट स्थानीवासीले खरिद गरी लग्ने गरेको उहाँले बताउनुभयो ।

कोरोना महामारीमा आफूले उत्पादन गरेको दूधले उचित बजार नपाउँदा केही घाटा बेहोर्नु परेको भए पनि अहिले भने बजारको कुनै समस्या नरहेको उहाँको भनाइ छ । “विगत छ महिनायता आफैँले डेरी उद्योग पनि सञ्चालन गरेका छौँ, अहिले आम्दानी राम्रो छ”, उहाँले भन्नुभयो । दाङमा अहिले दूधको खुद्रा मूल्य रु ८० र दहीको रु ९० प्रतिलिटर रहेको र आगामी चैत १ गतेदेखि भने सो मूल्यमा रु १० वृद्धि हुने यसअघि नै निर्धारण भइसकेको छ ।
हिजो मङ्गलबार डाँगीको भैँसी फार्ममा दूध खरिद गर्न आएकी तुलसीपुर उमहानगरपालिका–६ रजौराका ४३ वर्षीया राधा पाण्डेले आफ्नै घर आँगनमा शुद्ध दूध खान पाइने भएकाले किन्न आएको बताउनुभयो । उहाँले भन्नुभयो, “यसअघि एक लिटर दूध किन्न पनि तुलसीपुर बजार जानुपर्ने बाध्यता थियो तर अहिले घर छेउमा ताजा दूध पाउँदा खुसी लागेको छ ।”

डाँगीको फार्ममा अहिलेसम्म रु २५ लाखसम्म लगानी भइसकेको छ भने दुग्धजन्य पदार्थ र मूल बिक्रीबाट वार्षिक रु २० देखि २५ लाखसम्म आम्दानी हुने गरेको छ । डाँगीले भन्नुभयो, “आन्तरिक व्यवस्थापकीय सबैजसो खर्च कटाएर गत वर्ष कम्तीमा पनि रु सात लाख बचत गर्न सफल भएका हौँ । यसपटक डेरी पनि सञ्चालन गरेकाले त्यो बचत रकम बढ्ने अपेक्षा लिएकी छु ।”घाँसको पर्याप्त उत्पादन नहुँदा दाना तथा पराल, चरणलगायत अन्य सामग्री खरिद गर्दा लागत खर्च बढेको उहाँको भनाइ छ । “अहिलेसम्म सरकारी निकायबाट केही प्राविधिक सहयोग त पाएको छु तर अरु आर्थिक सहयोग कुनै निकायबाट पाएको छैन”, उहाँले भन्नुभयो । कम लगानीमा छोटो समयमा मनग्ये आम्दानी गर्न सकिने भएकाले अहिले उहाँको भैँसी फार्ममा विभिन्न ठाउँबाट भैँसी हेर्न, जानकारी लिन तथा भैँसी खरिदका लागिसमेत मानिस आउने गरेका छन् ।“पढेलेखेका युवा पैसा कमाउनकै लागि जागिर खानैपर्छ वा विदेश नै जानुपर्छ भन्ने छैन”, उहाँले भन्नुभयो । पढेको कुरा व्यवहारमा लागू गर्ने हो भने कृषि व्यवसाय गर्नुपर्ने उहाँको भनाइ छ ।राज्यले नारामा मात्र सीमित नभई व्यावहारिकरुपमै कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्ने धारणा उहाँको छ । त्यस्तै उत्पादित सामग्रीलाई बजारको प्रबन्ध गर्नसकेमा किसानमा अझै ठूलो हौसला मिल्ने उहाँको सुझाव छ ।

 


Thali Mobile Pvt.Ltd.