काठमाडौं । नेपालीको सबैभन्दा ठूलो पर्व दशैं सुरु भएपनि। अघिल्ला वर्षमा जस्तो बजारमा भीडभाड देखिएको छैन । सर्वसाधारणमा उल्लास नदेखिएपनि किनमेलमा पनि तडकभडक छैन ।
भ्याइँनभ्याइँ व्यापार हुनुपर्ने खाद्यान्न र लत्ताकपडा पसलको व्यापार निकै कम भएको व्यापारीहरु बताउँ छन् । बजारमा अधिकांश उपभोग्य वस्तुको मूल्य वृद्धि हुँदा यो वर्षको दशैं आर्थिक संकटले झेलिएको छ ।
कोरोना भाइरस महामारीपछिको पहिलो दशैं उपभोक्तालाई निकै महंगो पर्ने भएको छ । बजारमा दैनिक उपभोग्य वस्तु महंगिँदै जाँदा उपभोक्ता मूल्यबृद्धिको चपेटामा परेकाले पनि चहलपहल खासै नभएको उपभोक्ता बताउँछन् ।
चाडपर्वमा अत्यधिक खपत हुने वस्तुको मूल्यवृद्धि भएको छ । दाल, चामल, तेल, लत्ताकपडा, खसीबोकाको मासु तथा च्यांग्राको मूल्य बढेकाले दशैं महंगिएको छ ।
अधिकांश वस्तु आयात गर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमै बढेकाले नेपालमा पनि सोहीअनुसार मूल्य बढेको व्यवसायी अशोककुमार श्रेष्ठले बताए ।
सजिलै सामान आयात गर्न नसक्दा साना व्यापारीले पनि लगानी पुर्याउन सकिरहेका छैनन् । उपभोक्ताले पनि त्यो सामान किन्न सक्ने अवस्था छैन । यसले व्यापारीलाई भन्दा पनि बढी मार उपभोक्तालाई नै परेको छ ।
