भर्खरै : Sorry, your browser does not support inline SVG.
उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा | डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन विज्ञहरूको दबाब, जनशक्ति अभावप्रति चिन्ता | ६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका ५ सांसद सूचीमा | प्रधानमन्त्री बालेनसँग इयूका राजदूत र मिसन प्रमुखको भेट, द्विपक्षीय सहकार्यबारे छलफल | अलपत्र सेती नदीको पुल निर्माणले लियो गति, ८५ प्रतिशत काम सकिँदै |

महामारीले रोकेन मेला

महामारीले रोकेन मेला

बनेपा । हरेक वर्ष साउन शुक्ल पूर्णिमाको दिन मनाउँदै आएको पर्व जनैपूर्णिमा÷रक्षाबन्धनका अवसरमा यहाँ लाग्ने मेलामा प्रशासनले भीडभाड नगर्न आग्रह गरे पनि भक्तजनहरुको ठूलो भीड लागेर मनाइएको छ ।काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ गोसाइँस्थानमा लाग्ने मेलामा विभिन्न क्षेत्रबाट आएका दर्शनार्थीको भीड लागेको हो । यहाँका शिव मन्दिरमा हरेक वर्ष जनैपूर्णिमाको दिन लाग्ने जात्रामा यस वर्ष कोभिड–१९ को प्रभावका कारण जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले मेला जात्रा नगर्न आग्रह गरेको भए पनि भक्तजनले भने ठूलै भीडका साथ त्यहाँ पुगेर दर्शन र पूजाआजा गरेका छन् । विभिन्न क्षेत्रबाट त्यहाँ पुगेका भक्तजन कोही पैदल यात्रा गरेर र कोही सवारीसाधनमा पुगेका थिए । गत वर्षभन्दा पनि यस वर्ष गोसाइँस्थानडाँडामा मानिसदेखि सवारी साधनको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको थियो ।

गोसाइँस्थान संरक्षण समितिका अध्यक्ष भेषराज शाहले यस वर्ष पनि कोरोना सङ्क्रमणको उच्च जोखिम रहेका कारण यहाँ लाग्ने जात्रा स्थगन गरिएको भए पनि झन् यस वर्ष गत वर्षभन्दा दर्शनार्थीको सङ्ख्या उल्लेख्य रहेको बताउनुभयो । “गत वर्ष जस्तै यो वर्ष पनि कोरोना सङ्क्रमणको उच्च जोखिम रहेकाले जात्रा नगर्ने निर्णय संरक्षण समितिले गरेको थियो तर भक्तजनहरु स्वतःस्फूर्त रुपमा आउने र दर्शन गर्न आउने गरेका कारण व्यवस्थित गर्न समस्या भएको हो,” उहाँले भन्नुभयो, “सकेसम्म कम गर्न र जात्रामा स्टल नराख्न व्यवसायीहरुलाई आग्रह गरेको भए पनि बिहान र दिउँसो भक्तजनहरुको भीडभाड बढेकामा बेलुकाखेर कम भएको छ ।”

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख भूपेन्द्रबहादुर खत्रीले सो क्षेत्रमा बढी भीडभाड भएर मेला भरेको गुनासो आएपछि बेलुका ६ बजेदेखि मेला बन्द गर्न प्रहरी प्रशासन परिचालन गरिसकेको बताउनुभयो । कोभिड–१९ को सङ्क्रमण दरमा वृद्धि भइरहेका कारण सङ्क्रमणको जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले कुनै पनि भेला सम्मेलन र भीडभाड हुने खालका कार्यक्रम नगर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले यही भदौ ३ गतेबाट भदौ १५ गतेसम्मका लागि जिल्लामा मिश्रित निषेधाज्ञा लागू भइसकेकाले त्यसको पूर्ण पालना गर्दै सो अवधिमा पर्न जाने जात्रा, पर्वलगायत परम्परागतरूपमा मनाइँदै आएका पर्वहरुमा भीडभाडजन्य गतिविधि नगर्न÷नगराउन सबैमा अनुरोध गरेको छ ।

सो स्थानमा हिन्दू र बोनधर्म परम्पराअनुसार पूजा र दर्शन गर्ने गरिन्छ । हिन्दू धर्म संस्कारअनुसार त्यहाँ रहेको शिव मन्दिरमा पूजा गर्ने र ब्राह्मणबाट रक्षाबन्धन र टीका लगाइन्छ भने तामाङ समुदायका मानिसहरु झाँक्रीहरु ढ्याङ्ग्रो बजाउँदै विभिन्न तरिकाले पूजा र दर्शन गर्दछन् । सो जात्रामा महिला र पुरुषबीचमा तामाङ दोहोरी गीत गाएर आफ्ना मनका भावनाहरु साटासाट गरेर रमाइलो गर्ने प्रचलन रहँदै आएको छ । धार्मिक आस्थाका हिसाबले महत्वपूर्ण मानिएको सो मेलामा काभ्रेपलाञ्चोकलगायत काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोकलगायत जिल्लाका भक्तजन आउने गर्दछन् तर यो वर्ष टाढाटाढाबाट भक्तजन नआए पनि जिल्लाभित्रै विभिन्न स्थानबाट दर्शन गर्न आउनेको घुइँचो बढेको छ । रसुवा जिल्लाको गोसाइँकुण्ड पुग्न नसक्नेहरुले बनेपाको गोसाइँस्थानमा गएर दर्शन गर्ने गर्दछन् ।

 


Thali Mobile Pvt.Ltd.