बेइजिङ । चिनियाँ अन्तरिक्ष यान चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको चीन सरकारले घोषणा गरेको छ । मानवरहित उक्त यानले चन्द्रमाबाट केही ढुंगा संकलन गरी पृथ्वीमा ल्याउने छ ।
चन्द्रमामा अवतरण गर्दाका तस्वीरहरु सार्वजनिक गर्दै चाङ्गे ५ नाम दिइएको यो यान मंगलबार ११ बजे राति चन्द्रमामा अवतरण गरेको चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासनले जनाएको छ । चन्द्रमामा ढुंगाहरुका नमूना संकलन गरेको जनाएको छ । यानले चन्द्रमामा अवतरण गर्नेक्रममा सफलतापूर्वक आफ्ना सौर्य प्यानल फहराएको थियो जसले यानलाई आवश्यक पर्ने ऊर्जा प्रदान गर्छ ।
चीनबाट गत नोभेम्बेर २४ मा प्रक्षेपण गरिएको यो यान चिनियाँ अन्तरिक्ष कार्यक्रमको एउटा महत्वाकाँक्षी परियोजना हो । हैनान अन्तरिक्ष केन्द्रबाट सन् २००३ मा पहिलो पटक एक चिनियाँ अन्तरिक्ष यात्री लिएको यान अन्तरिक्षमा पठाइएको थियो । मंगलग्रहको खोज र अनुसन्धानका लागि पनि चीनले यान प्रक्षेपण गरिसकेको छ ।
चन्द्रमा पुगेको यान दुई दिनसम्म चन्द्रमाको सतहमा रहनेछ र त्यहाँबाट २ किलोग्राम ढुंगा र अन्य पदार्थ संकलन गर्नेछ । यो यान यही डिसेम्बर महिनाको मध्यतिर उत्तरी चीनमा अवतरण गर्ने योजना चीनको छ । यदि यो उडान सफल भएमा सन् १९७० को दशकपछि पहिलोपटक पृथ्वीमा चन्द्रमाको सहतबाट नयाँ नमूना प्राप्त हुनेछ ।
यी नमूनालाई अनुसन्धानका लागि अन्य देशका वैज्ञानिकलाई पनि उपलब्ध गराइने चीनले जनाएको छ । यसैबीच, अमेरिकी र रुसी अन्तरिक्ष कार्यक्रमका अधिकारीहरुले चिनियाँ सफलताका लागि बधाइ दिएका छन् ।
