चितवन । दुर्लभ एकसिङ्गे गैँडा संरक्षण निकै चुनौतीपूर्ण बन्दै गएको छ । चोरीसिकारी र बासस्थान अभाव हुँदा नेपालकै पहिलो राष्ट्रिय निकुञ्जमा सो समस्या वढ्दै गएको हो ।
विसं २०२९ मा स्थापना भएका यस निकुञ्जमा २०५५ सालदेखि हालसम्म एक सय ७९ वटा गैँडा चोरीसिकारीका कारण मरेका छन् । निकुञ्जको स्थापनापछि झन्डै डेढ दशक रोकिएको गैँडाको चोरीसिकार विसं २०४० को दशकपछि पुनः सुरु भई द्वन्द्वकालमा ह्वात्तै बढेको निकुञ्जको तथ्याङ्कले देखाएको छ ।
चितवनमा विसं २०५६ देखि २०६६ को बीचमा एक सय ५८ वटा गैँडा चोरीसिकारीका कारण मरेका थिए भने आर्थिक वर्ष ०५८-५९ मा एक वर्षकै अवधिमा ३८ वटा गैँडा चोरीसिकारीका कारण मारिए । यो तथ्याङ्क नै चोरीसिकारीका कारण सबैभन्दा बढी गैँडा मरेको वर्षका रुपमा रहेको छ ।
दुई आव ०६९-७१ र ०७३-७४ मा एक÷एकवटा गैँडा चोरीसिकारीका कारण मरेका थिए । यसपछि केही वर्ष रोकिएको गैँडाको चोरीसिकारी आव २०७७÷७८ मा तस्करले एक्कासि चारवटा गैँडा मारेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । गत आव २०७८-७९ मा चोरीसिकारीका कारण दुईवटा गैँडा मारिएका छन् ।
आव २०७१-७३ (दुई आर्थिक वर्ष)सम्म लगातार तथा २०७४-७७ (तीन आर्थिक वर्ष)सम्म चितवनमा गैँडाको चोरीसिकार भएन । सो समय निकुञ्जले ‘शून्य चोरीसिकारी वर्ष’समेत मनाएको थियो । त्यसैगरी, आव २०७४÷७५ देखि एक हजार दिनसम्म चोरीसिकारीका कारण निकुञ्जमा कुनै पनि गैँडा नमरेका भन्दै निकुञ्जले उत्सवसमेत मनाएको थियो ।
यद्यपि अहिले पछिल्ला दुई वर्षदेखि निकुञ्जमा चोरीसिकारी र कालगतिका कारण गैँडाहरु भकाभक मर्ने क्रम बढेपछि संरक्षणमा चुनौती थपिएको छ । प्राकृतिक कारणले पनि गैँडा मर्ने क्रम बढ्दो अवस्था रहेको छ ।
गैँडा बुढो भएर, एकापसमा जुधेर, दलदलमा फसेर, बच्चा जन्माउन नसकेर, बाढीले बगाएर र साना केटोलाई बाघले खाइदिएर मर्ने गरेका छन् । गत आव २०७८-७९ मा निकुञ्जमा ३७ गैँडा प्राकृतिक कारणले मरेको देखिन्छ । त्यस्तै अघिल्लो आर्थिक वर्ष २०७७-७८ मा ३३ र आव २०७६-७७ मा ४३ गैँडा प्राकृतिक कारणले मरेका छन् ।
निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रामप्रीत यादवले पछिल्ला वर्षहरुमा गैँडा संरक्षणमा चुनौती थपिँदै गएको बताउनुभयो । गैँडा संरक्षणको सबैभन्दा ठूलो समस्या भनेको चोरीसिकारी भएको यादवको भनाइ छ । गैँडाको उचित प्राकृतिक बासस्थान नहुँदा मानव बस्तीमा आउने कारण मानव र गैँडाबीचको द्वन्द्व पनि बढिरहेको उनको भनाइ थियो ।
निकुञ्जमा गैँडा मर्ने क्रम मात्रै बढेको छैन । यहाँ गैँडाको सङ्ख्यामा समेत वृद्धि भइरहेको छ । २०७८ को गणनामा देशभर सात सय ५२ गैँडा पाइएकामा निकुञ्जमा मात्रै ६ सय ९४ गैँडा भेटिएका थिए । बर्दियामा ३८, शुक्लाफाँटामा १७ र पर्सामा तीन गैँडा छन् ।
अघिल्लो २०१५ को गणनामा चितवनमा ६ सय पाँच गैँडा थिए । यसरी गैँडाको सङ्ख्या बढ्दा मानव बस्तीमा समेत आउने गरेका छन् । यसले मानव र गैँडाबीच द्वन्द्व बढ्दै गएको छ ।
