भर्खरै : Sorry, your browser does not support inline SVG.

मुटुरोगीको सङ्ख्या बढ्दै

मुटुरोगीको सङ्ख्या बढ्दै

चितवन । जिल्लाका ठूला अस्पतालका मुटुरोग विशेषज्ञले एउटै मञ्चबाट उच्च रक्तचाप, मधुमेह, तनाव, मदिरा, सुर्तीजन्य पदार्थ, मोटोपन जस्ता कारणले दिनानुदिन मुटुरोगीको सङ्ख्या बढ्दै गएको बताउनुभएको छ ।मुटुरोगको उपचार गर्ने चिकित्सकको संस्था ‘नेशनल हर्ट एण्ड लङ्ग सोसाईटी’ नेपाल र कान्तिपुर हेल्थले आज यहाँ आयोजना गरेको चिकित्सक–पत्रकार अन्तक्रिया कार्यक्रममा उहाँहरुले आम नागरिकमा रोगबाट बच्नका लागि आवश्यक जनचेतना जगाउन नसकिएकामा चिन्ता व्यक्त गर्नुभएको हो ।

कार्यक्रममा भरतपुर अस्पतालका मुटुरोग विशेषज्ञ डा मणिप्रसाद गौतमले मुटु रोग तनाव, मधुमेह, धूमपान, व्यायामको अभाव, मदिरा, सुर्तीजन्य पदार्थको बढी उपभोगका कारण हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा २८ देखि ३० प्रतिशत धूमपान गर्दछन् त्योभन्दा बढी सुर्ती खाने गर्दछन् ।” वर्ष दिनमा एक पटक ७२ दशमलव आठ प्रतिशत नेपालीले मदिरा सेवन गर्ने गरेको अध्ययनले देखाएको भन्दै उहाँले ४८ दशमलव आठ प्रतिशतले नियमित मदिरा सेवन गर्ने गरेको जानकारी दिनुभयो ।

पन्ध्र वर्षदेखि ६९ वर्ष उमेरसम्मका समूहमा सन् २०१९ मा गरिएको सर्वेक्षणले यो तथ्य दिएको भन्दै उहाँले समयमा नियन्त्रण गर्न नसकेमा भविष्यमा समस्या जटिल बन्दै जाने बताउनुभयो । नौ दशमलव एक प्रतिशत नेपालीमा मधुमेह रहेको भन्दै उहाँले थप १० प्रतिशत मधुमेहको जोखिममा रहेको बताउनुभयो ।उहाँले भन्नुभयो, “मधुमेहका बिरामीलाई मुटु रोग हुने उच्च सम्भावना हुन्छ ।” विश्वका १७ प्रतिशत मधुमेयी भारतमा रहेको चर्चा गर्दै नेपाल र भारतको खानपान र जीवनशैली एउटै खालको भएकाले नेपाल पनि उच्च जोखिममा रहेको डा गौतमले बताउनुभयो ।

मुटु रोगका लागि बलियो कारक उच्च रक्तचाप बन्दै गएको उहाँको भनाइ छ । उहाँले थप्नुभयो, “वयस्कमा २४ दशमलव पाँच प्रतिशत उच्च रक्तचाप रहेको छ ।” नेपालमा मोटोपन र मोटोपन नभए पनि पेट ठूलो हुने हुँदा यो मुटुरोगका लागि जोखिम हुने चिकित्सकले बताउनुभएको थियो । सो अवसरमा चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा श्यामराज रेग्मीले खानपान र जीवनशैलीमा आएको परिवर्तनले मुटुरोगको समस्या बढ्दै गएको बताउनुभयो ।समयमा उपचार गर्न सकेमा जीवन बचाउन सकिने उल्लेख गर्दै उहाँले भन्नुभयो, “विश्वस्तर र काठमाडौँमा रहेका मुटुरोगमा उपयोग हुने प्रविधि अहिले चितवनमा नै छ ।”

काठमाडाँैंको गङ्गालाल हृदयरोग केन्द्रमा १० वर्ष अनुभव हासिल गरेर विगत १० वर्षदेखि चितवनमा उपचारमा सक्रिय डा रेग्मीले उपचारका सबै सुविधा यहाँ भए पनि आम नागरिकलाई विश्वास दिलाउन अझै नसकिएको बताउनुभयो ।उहाँले भन्नुभयो, “काठमाडौँका सरकारी अस्पतालको शुल्क र यहाँका निजी अस्पतालको शुल्क एउटै छ, प्रविधि उही छ, तर मोफसलको मानसिकताले बिरामी यहाँ उपचार गराउन हिच्किचाउँछन् ।” हृदयघात भएका बिरामीलाई ३० देखि ९० मिनेटभित्र भल्व खोल्नुपर्ने भन्दै उहाँले यहाँ आधा घण्टाभित्रमा नशा खोल्न सकिने बताउनुभयो ।

मुटुको उपचारको सेवा राजधानी बाहिर सुरु गरेसँगै धेरैको जीवन बचेको छ । डा रेग्मीका अनुसार कृत्रिम मुटु प्रत्यारोपण जस्ता प्रविधि विकास भएको भए पनि नेपालमा त्यो आइनसकेको बताउनुभयो ।चितवन मुटु अस्पतालका मुटुरोग विशेषज्ञ डा शङ्कर लौडारीले मृत्यु भएका चार जना नेपालीमध्ये एक जनाको कारक मुटुरोग हुने गरेको भन्दै खानामा चिल्लो र गुलियो बस्तु घटाउन आग्रह गर्नुभयो । पछिल्लो समय प्रदूषण पनि मुटुरोगको कारण बन्ने गरेको चर्चा गर्दै डा लौडारीले भन्नुभयो, “हावा प्रदूषणले २५ देखि २७ प्रतिशत मुटुका रोग निम्ताउँछन् ।” प्रदूषणले मुटुदेखि क्यान्सरसम्मका रोग निम्त्याउने उहाँको भनाइ थियो ।

तनाव मुटुरोगको अर्को कारण रहेको भन्दै उहाँले तनाव व्यवस्थापनमा लाग्न सुझाव दिनुभयो । जनचेतना जागृत गराउन विश्वभर मुटु दिवस मनाउने गरेको भन्दै उहाँले सबै मिलेर जनचेतना जगाउनुपर्नेमा जोड दिनुभयो ।नारायणी सामुदायिक अस्पतालका मुटुरोग विशेषज्ञ डा सुधीर रेग्मीले छाती दुख्नु, रिंगटा लाग्नु, बेहोस् हुनु जस्ता मुटुरोगका लक्षण भएको बताउनुभयो । छाती दुख्यो भनेर आउनेको मोटोपन, तनाव, पेसा आदि बुझेर मुटुरोगको शङ्का लागेमा थप परीक्षण गरिने जनाउँदै उहाँले भन्नुभयो “मुटुरोगको शङ्का लागेमा तुरुन्त चिकित्सकको परामर्श लिनुपर्छ ।”

मुटुरोगको आशङ्कामा आउने बिरामीलाई गरिने उपचार पद्दतिका बारेमा बताउँदै उहाँले मुटु रोगको आशङ्का लागेमा हेलचक्र्याइ गर्न नहुने बताउनुभयो । मुटुरोग जन्मजात पनि हुने भन्दै उहाँले ४० वर्षपछि मुटुरोग हुने जोखिम बढ्दै जाने बताउनुभयो । सरकारले मुटुरोगका बिरामीलाई गर्ने सहयोग अपुग भएको भन्दै उपचारमा निःशुल्क गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कम्तीमा मुटु रोगको आकस्मिक बिरामीलाई चाहिने औषधि र उपकरण निःशुल्क गर्नुपर्छ ।”कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पतालका मुटुरोग विशेषज्ञ डा मनोज श्रेष्ठले वंशाणुगत बाहेक मुटुरोगबाट बच्न सकिने बताउनुभयो ।

उहाँले नेपालमा खानपान मुख्य समस्या रहेको भन्दै रातो मासु, चिल्लोयुक्त खाना, तेलमा भुटेको तारेका तयारी खाना खान नहुने बताउनुभयो ।उहाँले भन्नुभयो “खानामा फलफुलु र तरकारीको मात्रा बढाउनु पर्छ ।” शारीरिक व्यायाम गर्न सुझाव दिँदै उहाँले हप्तामा पाँचदेखि छ दिन २० देखि ३० मिनेट हिँड्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “दश मिनेट जति दौडिँदा मुटुलाई धेरै राम्रो हुन्छ ।” उचाइका आधारमा तौल हुनुपर्ने भन्दै उहाँले धूमपान र मध्यपानबाट बच्नुपर्ने बताउनुभयो ।जिल्लामा मुटुरोग उपचारका लागि अत्याधुनिक उपकरणसहितका क्याथल्याब सञ्चालनमा छन् । यससँगै मुटुको शल्यक्रिया गरेर यही उपचार हुँदै आएको छ । उपस्थित चिकित्सकले मोफसलमा रहेर मुटुको राम्रो उपचार गर्न सकेकोमा खुसी व्यक्त गर्नुभएको थियो ।

 


Thali Mobile Pvt.Ltd.