भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

मुटु अस्पताल सञ्चालनमा

मुटु अस्पताल सञ्चालनमा

चितवन । जिल्लामा चितवन मुटु अस्पताल सञ्चालनमा आएको छ । मुटुसँग सम्बन्धित सबै खालका उपचार गर्ने गरी अस्पताल सञ्चालनमा ल्याइएको हो । भरतपुर महानगरपालिका–१० दूरसञ्चार रोडमा मुटुरोग विशेषज्ञसहितको समूहले अस्पताल सञ्चालनमा ल्याएको हो । अस्पतालका अध्यक्ष मुटुरोग विशेषज्ञ डा शङ्कर लौडारीका अनुसार अस्पतालमा चौबीसै घण्टा मुटुको भिडियो एक्सरे, इको कार्डियोग्राफी, होल्टर मनिटर, एबीपिएम, इसिजी सेवा उपलब्ध छ ।

यसैगरी मुटुको मांसपेशीमा पर्ने असरको इकोबाट अध्ययन गरिने स्टे«न इमेजिङ इको, डोबुस्टे«स इको, टिएमटीलगायतका सेवा अस्पतालले दिँदै आएको छ । अस्पतालमा मुटुसँग सम्बन्धित रहेर रेडियोलोजी तथा इमेजिङ सेवा र शल्यक्रियासमेत हुने गर्दछ । अस्पतालमा सिसीयू र आइसीयू सेवासमेत सञ्चालनमा ल्याइएको छ ।

अस्पतालमा छिट्टै क्याथल्याब सञ्चालनमा ल्याइँदैछ भने ओपनहर्ट सर्जरीको योजनासमेत रहेको डा लौडारीले बताउनुभयो । उहाँका अनुसार वाग्मती प्रदेशमा गङ्गालाल हृदयरोग केन्द्रपछिको मुटुरोग अस्पतालका रूपमा यसलाई विकास गरिँदैछ । चितवनसहित छिमेकी जिल्लाका बिरामी यसबाट लाभान्वित हुने उहाँको भनाइ छ ।

विगत ११ वर्षदेखि मुटुरोग उपचारमा सक्रिय लौडारी र विगत १३ वर्षदेखि मुटुको उपचारमा संलग्न डा मणिप्रसाद गौतमको नेतृत्वमा चिकित्सक, स्वास्थ्यकर्मीले अस्पताल सेवा दिँदै आउनुभएको छ । अस्पतालका प्रबन्ध निर्देशक प्रभात शर्माका अनुसार स्वदेशी र विदेशमा रहेका नेपाली गरी २४ जनाको लगानीमा अस्पताल सञ्चालनमा ल्याइएको हो । नेपाली चिकित्सक र स्वास्थ्यकर्मी पनि लगानीकर्ताका रूपमा छन् । हालसम्म रु १० करोड लगानी भएको भन्दै उहाँले सेवा विस्तार गर्दै जाँदा लगानी थपिँदै जाने बताउनुभयो ।

अस्पताल सञ्चालनमा आएसँगै यस क्षेत्रका बिरामी राजधानी र विदेश जान नपर्ने गरी अत्याधुनिक सुविधासम्पन्न बनाउँदै लगिने शर्माको भनाइ छ । पच्चीस शय्याको सो अस्पतालमा आठ चिकित्सकसहित ४५ जना कार्यरत रहेको अस्पतालका सूचना अधिकारी महेश पाण्डेले बताउनुभयो । अध्यक्ष डा लौडारीका अनुसार मुटुरोगको कारकतत्वमा उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल, धुमपान, मद्यपान, मोटोपन, व्यायाम रहेका छन् । कतिपयलाई वंशाणुगतरूपमा पनि यो रोग देखिने गर्दछ ।

नेपालमा प्रति १० हजारमा ४०० देखि ५०० सम्मलाई मुटुरोग हुने गरेको अध्ययनले देखाएको लौडारीले बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षको एकपटक मुटुको परीक्षण सबैले गर्नुपर्छ ।” समयमै रोगको पहिचान भएमा उपचार सहज हुने उहाँको भनाइ छ । मुटुसँग सम्बन्धित विशिष्ट विज्ञलाई समेत अस्पताल झिकाएर परीक्षण गराउने योजना रहेको उहाँले जानकारी दिनुभयो । चितवन मध्यनेपालको मेडिकल क्षेत्रमा अग्रणी जिल्लाका रूपमा परिचित छ । यहाँ भारतीय सीमा क्षेत्रदेखि बिरामी आउने गर्दछन् । मुटुका लागि अलग्गै अस्पताल खुलेसँगै यस क्षेत्रका धेरै बिरामी लाभान्वित हुने देखिएको छ ।

 


Thali Mobile Pvt.Ltd.