भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

म्याग्दीमा अग्र्यानिक तरकारीको लहर

म्याग्दीमा अग्र्यानिक तरकारीको लहर

गलेश्वर । विगत २८ वर्षदेखि कृषि पेशामा लागेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका ५८ वर्षीय चन्द्रबहादुर कार्की पछिल्लो डेढ वर्षयता आफूले फलाएको तरकारीको माग बढेपछि दङ्ग पर्नुभएको छ ।जिल्लाको नयाँ पर्यटकीयस्थल लभ्लीहिल नजिकैको १२ रोपनी खेत र बारीमा प्राङ्गारिक तरकारी खेती गर्दै आउनुभएका कार्कीले यसअघि कहिल्यै पनि अग्र्यानिक तरकारीको बिक्री यति धेरै भएको थाहा पाउनुभएको थिएन । “म विगत २८ वर्षदेखि तरकारी खेतीमा छु, मेरो जीवनको उर्बर समय मैले मेरै खेतबारीको माटोमा बिताएको छु”, कार्कीले भन्नुभयो, “तर कोरोना कहर शुरु भएयता जसरी मैले फलाएको तरकारीको बिक्री भयो, त्यसरी यसअघि भएको थिएन ।”

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना सङ्क्रमण जति जति बढ्दै गयो, मानिसले आफ्नो स्वास्थ्यलाई ध्यान दिई अग्र्यानिक खानेकुराको मात्रा बढाउँदै लगे । विशेष गरी आयातित तरकारी र फलफूल नपाइने वा मानिसले त्यसलाई ध्यान नदिने भएपछि सदरमुकाम नजिकै रहेका कृषककहाँ पुगेर नै बजारका मानिसले तरकारी खरिद गर्न थालेपछि कार्कीजस्तै व्यावसायिक तरकारी खेतीमा लागेका किसानका उत्पादनले बजार पाउन थालेका हुन् । कृषक कार्कीको खेतबारीमा अग्र्यानिक तरकारी र फलफूल झुलिरहेका छन् । शारीरिक व्यायामका लागि बिहान लभ्लीहिलमा जाने बजारका गृहिणी, युवायुवती वा बटुवाले कार्कीको बारीमा पसेर ताजा तरकारी खरिद गरी फर्कने गरेका छन् ।

त्यसैगरी खबराका अर्का कृषक शोभित शर्मा, डाँडाखेतका नारायण पौडेल, बाबियाचौरका धर्मराज सुवेदीलगायतका जिल्लाका दुई दर्जन बढी कृषकले पछिल्लो समय प्राङ्गारिक तरकारीको बिक्री बढेपछि खेती विस्तार गर्ने सोच बनाएको बताएका छन् । विगतमा तरकारी बिक्रीबाट वार्षिक रु पाँच लाख आम्दानी गर्दै आउनुभएका खबराका चन्द्रबहादुर कार्कीले २०७६ को चैतदेखि २०७८ को वैशाखसम्म तरकारी बिक्री गरेर रु ११ लाखभन्दा बढी आम्दानी भएको बताउनुभयो । त्यसैगरी डाँडाखेतका नारायण पौडेलले पनि गत वर्ष आफूले उत्पादन गरेको तरकारी राम्रो बिक्री भएको र सोचेभन्दा बढी आम्दानी भएको बताउनुभयो ।

म्याग्दीका छवटा स्थानीय तहमा गरी २०० भन्दा बढी कृषक व्यावसायिक तरकारी खेतीमा लागेका छन् । तरकारी खेतीमा लागेका किसानले पछिल्ला वर्षमा मनग्गे आम्दानी गर्न थालेका कृषि प्राविधिक जगत बानियाँको अनुभव रहेको छ । बानियाँ भन्नुहुन्छ, “कोरोना कहर शुरु भएयता मानिसले अग्र्यानिक उत्पादनको महत्व बुझ्न थालेका छन्, जसले गर्दा गाउँका उत्पादनको माग शहर बजारमा बढी हुन थालेपछि किसानलाई फाइदा भएको हो ।”

कोरोनापछि धेरै मानिसले अग्र्यानिक उत्पादन खोज्न थालेको बगरफाँटका कृषक जितबहादुर कार्कीको पनि अनुभव रहेको छ । बेनी–बगरफाँट–सुर्केमेला–बरङ्जा सडकको छेउमा रहेको उहाँको बारीमा अग्र्यानिक तरकारी खरिद गर्न बेनी बजारबाट धेरै ग्राहक आउन थालेका छन् । कोरोनापछि अग्र्यानिक तरकारी खोज्दै उहाँका बारीमा धेरै उपभोक्ता पुग्छन् । प्राङ्गारिक तरकारी खेती गर्न पाउँदा एकदम खुशी लागेको उहाँ बताउनुहुन्छ । मानिसको स्वास्थ्यँग जोडिएको हुनाले पहिलादेखि नै कार्कीले प्राङ्गारिक खेतीको प्रचारप्रसार गर्दै आउनुभएको थियो ।

विषादीयुक्त तरकारीले मानव स्वास्थ्यमा धेरै हानि गर्ने हुँदा सबैले अग्र्यानिक खेती गर्नु कृषिविज्ञको भनाइ रहेको छ । म्याग्दीमा निजी क्षेत्रले करोडौँ लगानीमा कृषि फर्म सञ्चालन गरेका छन् । जिल्लाको बेनी नगरपालिका–४ सिङ्गा र आवेबगरमा करिब रु १० करोडको लगानीमा सञ्चालित हरियाली कृषि फर्म र मङ्गला गाउँपालिकाको हिदीमा रु तीन करोडको लगानीमा प्राङ्गारिक कृषि फर्म सञ्चालित छन् । यी कृषि फर्मले पनि प्राङ्गारिक उत्पादनमा जोड दिँदै आएका छन् ।

म्याग्दीमा पछिल्लो समय अग्र्यानिक कृषितर्फ युवाको पनि आकर्षण बढ्दै गएको छ । विशेष गरी कोरोनाका कारण विदेशमा रोजगारी गुमाएर गाउँ फर्किएका युवा अग्र्यानिक खेतीतर्फ लागेका छन् ।

 


Thali Mobile Pvt.Ltd.