लमजुङ । एक वर्षमा तीन सय ३२ दम्पत्तीले जिल्ला अदालत लमजुङमा सम्बन्धविच्छेदका मुद्दा दर्ता गराएका छन् । गत आर्थिक वर्षमा दर्ता भएका तीन सय ३२ मुद्दामध्ये दुई सय ६० वटा मुद्दा फर्स्योट भएका छन् भने ६२ वटा फर्स्योट हुन बाँकी रहेका छन् । आव ०७८ र ७९ मा मात्रै अदालतमा आएका मुद्दामध्ये अंशवन्डा र लेनदेनभन्दा सम्बन्धविच्छेदका घटना तीन गुणा बढी देखिन्छ । लमजुङमा पछिल्ला वर्षमा सम्बन्धविच्छेदका घटना बढ्दै गएको पाइएको छ ।
अदालतमा वर्षभरिमा दर्ज हुने मुद्दामध्ये सबैभन्दा धेरै मुद्दा सम्बन्ध विच्छेदको हुने गरेका छन् । सामाजिक सञ्जालको बढ्दो प्रयोग, वैदेशिक रोजागार, कम उमेरमा विवाह र अन्य पारिवारिक समस्याका कारण सम्बन्धविच्छेद हुने गरेको जिल्ला अदालत लमजुङले जनाएको छ । यसअघि आर्थिक वर्ष ०७७ र ७८ मा दुई सय ७० वटा सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएको तथ्यांक रहेको छ भने आर्थिक वर्ष ०७६ र ७७ मा दुई सय १२ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए ।
