काठमाडौँ । संवैधानिक परिषद्का सदस्य रहेका सभामुख अग्नि सापकोटा नगएपछि संवैधानिक परिषदको बैठक अनिश्चित भएको छ । बैठकबारे समन्वय नभएको, पूर्वतयारी नभएको तथा गृहकार्य नपुगेकाले सभामुख सापकोटा बैठकमा नगएको उनका प्रेस सल्लाकार श्रीधर न्यौपानेले बताए ।
यसअघिको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा अनुपस्थित भएपछि स्थगित गरिएको थियो । सभामुख सापकोटा अनुपस्थित भएपछि बालुवाटारमा बिहान डाकिएको बैठक अनिश्चित भएको छ । ११ संवैधानिक निकायमा रिक्त रहेका ४६ पदाधिकारी नियुक्तिको एजेन्डामा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आज बैठक डाकेका थिए ।
संवैधानिक निकायहरूमा पदाधिकारी नियुक्तिका लागि प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद छ । परिषदमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रियसभाको अध्यक्ष, विपक्षी दलको नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहन्छन् । हाल उपसभामुखको स्थान रिक्त छ ।
प्रधानन्यायाधीश एक जना र महालेखापरीक्षक एक जनासहित १२ वटा संवैधानिक आयोगका ६२ पदमा संवैधानिक परिषदको निर्णयमा पदाधिकारीहरूको नियुक्ति हुने व्यवस्था छ । अहिले ४६ स्थान रिक्त छन् ।
