सडक आंशिकरूपमा मात्रै सञ्चालन

सडक आंशिकरूपमा मात्रै सञ्चालन

काठमाण्डौ । बाढी र पहिरोका कारण अवरुद्ध सडकहरु अझै सञ्चालनमा आउन सकेका छैनन् । बाढी र पहिरोका कारण एक सय ३१ सडक पूर्णरूपमा सञ्चालन हनु नसकेको सडक विभागले जनाएको छ । सडक अवरुद्ध हुँदा त्यहाँको जनजीवन नै प्रभावित हुने भएकाले एकतर्फी खुलाउनु पहिलो प्राथमिकता हुने विभागले जनाएको छ ।

हतारमा एकातर्फ खुलाइएको सडकमा दुवैतर्फ खुलाउने र आवश्यक स्थानमा मर्मत र कालोपत्रको काम अब सुरु गरिने सडक विभागले जनाएको छ । विगतका वर्षभन्दा यो वर्ष वर्षाका कारण धेरै सडक बिग्रिएका र यो वर्ष लामो समय भारी वर्षाका कारण सडकमा बढी क्षति पुगेको हो । क्षति पुगेकामध्ये अहिले कुनै पनि सडक ठप्प नै नरहेको विभागले जनाएको छ ।

असारदेखि नै अवरुद्ध रहेको लमजुङको बेँसीशहरदेखि मनाङको चामेसम्मको सडक केही दिन पहिलेदेखि सञ्चालनमा छ । यो वर्ष बेँसीशहर–चामे, अरनिको राजमार्ग, गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेँसी–रसुवागढी सडकमा बढी क्षति पुगेको थियो । यो वर्ष वर्षाका कारण दुई सय २६ सडक अवरुद्ध भएका थिए ।

तीमध्ये अहिले ९५ सडक दुवैतर्फ र एक सय ३१ सडक एकातर्फबाट सञ्चालनमा छन् । सडक नै ठप्प हुँदा तत्काल एकातर्फको अवरोध हटाएर चालु गरिएकामा आगामी दिनमा दुवै तर्फबाट चालु हुने गरी निर्माण गरिने सडक विभागले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.