काठमाडाैं । नेपालीको महान चाड बडादशैं सुरू भएसँगै थापाथलीमा सहुलियत मूल्यका खसी–बोका बिक्री वितरण सुरु गरिएको छ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले शनिबार देखि बिक्री वितरण सुरु गरेको हो । राजधानीको थापाथलीस्थित कम्पनीको कार्यालयमा खसी–बोका किन्नेहरुको भीडलागेकाे छ ।
कोरोना कहरकैबीच मनाउन थालिएको बडा दशैमा सरकारले नै भौतिक दुरी र स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्नु भनेको छ, तर यो भीड भाडले कस्तो परिणाम निम्त्याउने हो कसैलाई थाह छैन । कोरोनाको कुनै प्रवाह नगरी खसी बोका विक्री वितरण गरिएको प्रति सेवाग्राहीले गुनासो गरे ।
स्थानीय चन्द्रकला कटुवालले कैलाश खबरसँग भनिन्, ‘कसलाई के भन्नु ? सबैलाई खसी चाहिएको छ, भीडभाड त्यस्तै छ । पैसा बुझाउने ठाँउमा पनि भीड छ । छिटो भन्दा पनि डिजिटल प्रविधि भइदिए हुन्थ्यो, त्यहीँ पुरानो प्रविधिले ढिलो हुने गरेको छ ।’
त्यस्तै खसी किन्न हतारिएकी सुस्मिता काफ्लेले भनिन्, ‘काउन्टर भएन, आफनो मान्छलाई पहिले दिने गरेको पाइयो, भीडको समस्या देखिहाल्नु भयो ।’ बाेका किन्न आएका स्थानीय रामभक्त खनालकाे गुनासाे पनि त्यस्तै छ । उनले भने, ‘पाँच, छ सय जना मान्छेको लाइन छ तर काउण्टर एउटै छ, तौलमा समस्या नभएपनि डिजिटल प्रविधि भएको भए राम्रो हुन्थ्यो ।’
धेरै टाढाबाट हिडेर आएकाे सुनाउँदै कमल अधिकारीले भने, ‘सरकारले सामाजिक दूरी कायम गर भन्छ, यहाँ गाडीमा भेडाबाख्रा कोचेर ल्याए जस्तै गरेर मान्छेलाई कोचिराख्या छ । बिहान ७ बजेबाट लाइन बसेको अहिले बल्ल पाइयो, अहिलेको आधुनिक युगपनि पुरानै काँटा छ । कमसेकम दुई, चारवटा काँटा राखेर व्यवस्थित गरेको भए हुन्थ्यो नि ?’
यो वर्ष कम्पनीले खसी–बोकाको मूल्य प्रतिकिलो ६ सय ५० रुपयाँ निर्धारण गरेको छ । तर ग्राहकलाई प्रतिकिलो १० रुपैयाँ छुट दिएको र व्यवस्थित रुपमा खसीबोका बिक्रि गरिरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रदेश कार्यालयकी प्रादेशिक प्रमुख ज्ञानु थापाले बताइन् ।
थापाले भनिन्, ‘हामीले नापतौल विभागबाट दुई दिन अगाडि परिक्षण गरेर काँटा ठिक पारेका छौं, नापतौले दिएको प्रमाण पत्र पश्चात मात्र हामीले बिक्रि वितरण सञ्चालन गरेका छौं । उपभोक्ताले गुनासो गर्नु स्वभाविक हो तर त्यस्तो होइन, आत्मविश्वास गर्नुस सेवाग्राहीलाई सौलियत र व्यवस्थित खसी र बोका उपलब्ध गराउँछौं । आइतबार देखि थप काउण्टरहरु व्यवस्थित गरेर सञ्चालन गछौं ।’
खरिदकर्तालाई प्रतिकिलो ६ सय ४० रुपयाँमा बिक्रि गरिए पनि यो मूल्य गत वर्षको भन्दा ९० रुपैयाँले बढी हो । गत वर्ष कम्पनीले प्रतिकिलो ५ सय ५० रुपयामा बिक्री गरेको थियो । हाल २ हजार खशी, बोका विक्रीका लागि ल्याएको थापाको भनाइ छ । ग्राहकहरुको चाप बढेकाले आवश्यक्ता अनुसार फेरि पनि खशी, बोका थप गरेर विक्री वितरण गर्ने व्यवस्था मिलाइएको थापाले जानकारी दिइन् ।
उनले शनिवार १२ बजेसम्म ५ सयबढी खशी, बोका विक्री गरिएको बताइन् । विहान ७ बजेबाट अपरान्ह ५ बजेसम्म खशी, बोका विक्री वितरण गर्ने कम्पनीले जनाएको छ । यो वर्ष कोरोना महामारीका कारण चीनबाट ल्याउने गरेको च्याङ्ग्रा ल्याउन नसकिएको भन्दै देशका विभिन्न ठाउँबाट खसी बोका ल्याएको कम्पनीको भनाइ छ ।
