भक्तपुर । सूर्यविनायकका नवनिर्वाचीत जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेका छन् । सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापासहित नवनिर्वाचीत जनप्रतिनिधिहरुले सोमबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन । भक्तपुरका मुख्य निर्वाचन अधिकृत गोपाल प्रसाद बाँस्तोलाले मेयर थापालाई पद तथा गोपनीयतको सपथ गराएका थिए भने मेयर थापाले उपमेयर सरिता भट्टराईलगायत १० वडाका वडा अध्यक्ष र सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ गराएका थिए ।
सपथ ग्रहण कार्यक्रममा नवनिर्वाचित मेयर बासुदेव थापाले हिजोको सूर्यविनायक र आजको सूर्यविनायकलाई नियाल्न आम सूर्यविनायकका स्थानीयलाई आग्रह गरे । मेयर थापाले २०७४ सालमा आफू विजयी हुँदाको सूर्यविनायक भन्दा निकै फरक सूर्यविनायक निर्माण गरेको बताउदै दोस्रो कार्यकालमा अधुरा कामहरु पुरा गरेर जनताको मन जित्ने तर्क गरे ।
उनले जनताले दिएको अत्यधिक मतलाई दोस्रो कार्यकालमा खेर जान नदिने बताउदै साच्चै समृद्ध नगरपालिका निर्माण गर्न जिताएर मात्र नहुँने भन्दै सबैको साथ आवश्यक रहेको बताए । मेयर थापाले सूर्यविनायक नगरपालिका उपत्यकाको नमुना नगरपालिका बनाउने प्रतिवद्धता समेत व्यक्त गरे ।
सूर्यविनायक नगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर बासुदेव थापा, उपमेयर सरिता भट्टराईसहित पाँच वडाध्यक्ष गरी ३३ जना जनप्रतिनिधिहरु र नेपाली कांग्रेसबाट पाँच जना वडाध्यक्ष सहित १९ जना जनप्रतिनिधिहरुले समेत समृद्ध नगरपालिका निर्माण गर्न आफू र आफ्नो वडा प्रतिबद्ध रहेको प्रतिबद्धता जाहेर गरेका थिए ।
