काठमाडौं । रूससँगको शान्ति वार्ताका लागि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ६ वटा सर्त अगाडि सारेका छन् । जेलेन्स्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै युक्रेन शान्ति वार्ताका लागि तयार रहेको तर आफ्ना ६ वटा सर्त सम्बोधन हुनुपर्ने बताएका छन् । रूसले युक्रेनमा आक्रमण सुरु गरेको केही दिनपछि दुई पक्षका बीचमा शान्ति वार्ता सुरु भएको थियो ।
तर यसअघिका वार्ता परिणाममुखी हुन भने सकेनन् । गएको सोमवार चौथो चरणमा पछिल्लो वार्ता भएको थियो । रुसले गएको फेब्रुअरी २४ तारिखदेखि युक्रेनमा निरन्तर आक्रमण गर्दै आएको छ । रूसले युद्ध अन्त्य गर्नुपर्ने युक्रेनको पहिलो सर्त रहेको छ । त्यसैगरी सुरक्षाको सुनिश्चितता, स्वाधीनता, क्षेत्रीय भौगोलिक अखण्डताको पुनर्स्थापना, देशको वास्तविक सुनिश्चितता र वास्तविक रूपमै देशको संरक्षण हुनुपर्ने राष्ट्रपति जेलेन्स्कीले बताए ।
