आफ्नै परिवारमा सीमित रहेर दशैँ मनाऔँ– मुख्यमन्त्री शाही

आफ्नै परिवारमा सीमित रहेर दशैँ मनाऔँ– मुख्यमन्त्री शाही

कर्णाली प्रदेश ।कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी आ–आफ्नो परिवारमा सीमित रहेर दशैँं मनाउन अपिल गर्नुभएको छ । विजयादशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले यसपटक कोभिड–१९ को महामारीलाई जितेपछि आगामी वर्ष चाडपर्वहरु उल्लासमय रूपमा मनाउन सकिने हुँदा स्वास्थ्य सजगता अपनाउन आग्रह गर्नुभयो ।

ख्यमन्त्री शाहीले कोभिड–१९ ले निम्त्याएको चुनौतीलाई नयाँ अवसरका रूपमा लिँदै प्रदेशमा स्वास्थ्य पूर्वाधारहरूको उल्लेख्य विकास गरेको बताउनुभएको छ । “आवश्यक सङ्ख्यामा प्रदेश र जिल्ला अस्पतालहरुमा भेन्टिलेटर र आईसीयू शय्या क्षमताको विस्तार, प्रयोगशालाको स्थापना, नयाँ अस्पताल भवनको निर्माण, आइसोलेसन र क्वारेन्टिन व्यवस्थापनलगायतका कामहरु भएका छन्”, शुभकामना सन्देशमा भनिएको छ, “नागरिकको जीवन रक्षाजस्तो संवेदनशील विषयबाट सरकार पन्छिन मिल्दैन भन्ने मान्यताका साथ लक्षणसहितका कोभिड सङ्क्रमित बिरामीहरुको निःशुल्क उपचारको व्यवस्थासमेत प्रदेश सरकारले गरेको छ ।”

उहाँले नयाँ चुनौतीका रूपमा खडा भएको कोरोना सङ्कटले विकास र समृद्धिको दीर्घकालीन लक्ष्यमा केही अवरोध उत्पन्न गरेको भए पनि बलिदानीपूर्ण सङ्घर्षको प्रतिफलस्वरूप प्राप्त सङ्घीय व्यवस्थाबाट जनताले गरेको विकास र समृद्धिको अपेक्षा पूरा गर्न योजनाबद्ध रूपमा प्रदेश सरकार अगाडि बढिरहेको बताउनुभयो । “सङ्घीयताको अभ्यासको क्रममा देखा परेको केन्द्रीकृत सोच, संविधानप्रदत्त अधिकार हस्तान्तरणमा इच्छाशक्तिको कमीलगायतका समस्याहरुसँग लड्दै समृद्ध कर्णाली प्रदेश र समृद्ध नेपाल निर्माणका लागि प्रदेश सरकार दृढ छ”, जारी शुभकामना सन्देशमा उल्लेख छ । रासस

Mohotsav


Thali Mobile Pvt.Ltd.