भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

आर्थिक अभावमा रङ्गशालाको कामले गति लिन सकेन

आर्थिक अभावमा रङ्गशालाको कामले गति लिन सकेन

चितवन, । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको कामले गति लिन सकेको छैन । दैनिक तीन सय १३ जनासम्म जनशक्तिले काम गर्दै आएको रङ्गशालामा आर्थिक अभावका कारण हाल दैनिक ३०–३५ जनाले मात्रै काम गर्दै आएका छन् । त्यो जनशक्ति पनि नियमित छैन । धुर्मुस–सुन्तली फाउन्डेशनले भरतपुर महानगरपालिकासँग समन्वय गरेर काम गरेको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालयले चर्चेको त्रिभुवन विश्वविद्यालयको स्वामित्वको जग्गामा रङ्गशाला निर्माण भइरहेको छ ।

फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेलले आर्थिक अभावमा काम अघि बढ्न नसकेको बताए । सामान्य जनशक्तिले काम गरिरहेको भन्दै उहाँले साउन लागे यता आर्थिक अभावका कारण काममा बाधा पुगेको बताए । रङ्गशालामा हालसम्म रु ५३ करोड बराबरको काम भएको छ जसमध्ये रु १६ करोडभन्दा बढी तिर्न बाँकी रहेको लेखा प्रमुख मुक्ति तिमिल्सिनाले जानकारी दिए । उहाँले भन्नुभयो, “असार मसान्त हुँदै गर्दा सामाग्री दिनेहरुलाई भुक्तानी गर्न सकेनौँ । सामानकै अभावमा काम हुन सकेको छैन ।

” उहाँका अनुसार साउन १५ गतेयता जनशक्ति नियमित काममा लगाउन सकिएको छैन । सामग्री दिनेहरुले रकम माग्ने क्रम बढ्दो छ ।
अध्यक्ष कट्टेल दैनिक तीन सय १५ जनासम्म जनशक्तिले काम गर्दा रङ्गशालाको धेरै काम गर्न सकेको बताउनुहुन्छ । गत वर्षको साउन १ गतेबाट एक वर्षको अवधिमा ३५ प्रतिशत काम भएको भन्दै उहाँले आर्थिक अभाव नभएको भए ५० प्रतिशत काम सम्पन्न गरिसक्ने बताउनुहुन्छ । रकम जुटेमा आउँदो एक वर्षमा रङ्गशाला सम्पन्न हुने उहाँको भनाइ छ ।

हाल भुई र प्याराफिटको फिनिसिङको काम भइरहेको छ । बजेट भएको भए ढलानका काम अघि बढ्ने उहाँ बताउनुहुन्छ । विगत केही समययता काठमाडौँमा आर्थिक सहयोग जुटाउन आफू लागिपरेको जानकारी दिए । अर्थमन्त्री, खेलकुद मन्त्रालय लगायतका निकायमा आर्थिक सहयोग जुटाइदिन आफूले पहल गरिरहेको उहाँको भनाइ छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले नयाँ अर्थमन्त्री आएसँगै रङ्गशाला, नारायणी नदी तटबन्धन र महानगरको प्रशासनिक भवनका लागि बजेट माग गरी पत्राचार गरिएको बताए ।

उहाँले भन्नुभयो, “सङ्घीय, प्रदेश, महानगरसँगै दाताहरुको सहयोगमा छिट्टै रङ्गशाला निर्माण सम्पन्न गर्नुपर्छ भन्नेमा हामी लागिपरेका छौँ ।” महानगरभित्रको महत्वपूर्ण आयोजना रङ्गशाला भएको भन्दै उहाँले यसको कामलाई गति दिन आवश्यक रकम जुटाउनेमा लागिपरेको प्रस्ट्याउनुभयो । बाइस बिघा १६ कट्ठा पाँच धुर जग्गामा रङ्गशाला निर्माण गरिँदैछ । विस्तृत परियोजना प्रतिवेदनमा एक लाख ५४ हजार पाँच सय ६ वर्ग मिटरमा रंगशाला निर्माण गर्ने र त्यसभित्र ३० हजार मानिस बसेर खेल अवलोकन गर्नसक्ने जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.