चितवन । मकवानपुर भीमफेदी गाउँपालिका–९ का राजु थिङलाई उपचार खर्च तिर्न नसक्दा आइसियूमै राखिएको भन्ने समाचार गलत भएको चितवन मेडिकल कलेजले जनाएको छ ।
राजुकी श्रीमती संगीता थिङले औषधि र उपचार खर्च गरी तीन लाख रुपैयाँभन्दा बढी अस्पताल र फार्मेसीलाई तिर्न बाँकी रहेको र अढाई लाख रुपैयाँ उनीहरूले खर्च गरिसकेको बताएकी छन् । श्रीमान्को अवस्था सामान्य भएपछि उनले साधारण बेडमा सारिदिन अस्पताललाई अनुरोध गरेको बताईन तर, अस्पताल प्रशासनले पैसा तिरेपछि मात्र साधारण बेडमा सारिदिने बताएको उनको भनाई छ ।
यहि विषयमा अस्पताल प्रशासनसंग बुझ्दा अस्पतालका निर्देशक दयाराम लम्सालले भने, विरामीलाई अस्पतालमा उपचार गर्न ल्याउने हो नकि बन्धक बनाउन होईन । हामीले उपचारकालागि राखेका हौं । उनले अस्पतालको बदनाम गराउन यस्तो भ्रामक समाचार बाहिरिएको बताए ।
