भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

एकीकृत नमूना कृषि फार्म’का लागि १६ फार्म छनोट

एकीकृत नमूना कृषि फार्म’का लागि १६ फार्म छनोट

बाग्लुङ । ताराखोला गाउँपालिकामा एकीकृत नमूना कृषि फार्म सञ्चालनका लागि १६ कृषि फार्म र कृषक समूह छनोटमा परेका छन् । यसअघि गाउँपालिकाले फार्म सञ्चालन गर्न इच्छुक कृषक समूह र कृषि फार्मबाट प्रस्ताव माग गरेको थियो । आउँदो १५ दिनभित्र कार्यक्रम सम्झौता भई कार्यान्वयनमा जाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार एकीकृत नमूना कृषि फार्मका लागि सङ्घ सरकारको रु ७० लाख र गाउँपालिकाको रु ४२ लाख बजेट छ ।

“गाउँपालिकाले ५० देखि ७० प्रतिसम्म लगानी गर्छ, बाँकी सम्बन्धित कृषक समूह र कृषि फार्मले गर्नुपर्छ”, उहाँले भन्नुभयो, “कामको प्रगति र मूल्याङ्कनका आधारमा किस्तामा अनुदान दिन्छौँ ।” एकीकृत नमूना कृषि फार्मका लागि छनोटमा पर्नेमा वडा नं १ माझखर्कको एकीकृत सामुदायिक नमूना कृषि फार्म पहिलो नम्बरमा छ । बाख्रापालनका लागि उक्त फार्मले रु १६ लाख ५० हजार अनुदान पाउनेछ ।

यस्तै वडा नं १ र २ को ताराखोला एकीकृत तरकारी उत्पादन केन्द्रका लागि रु छ लाख, वडा नं १ कै चगाडी अग्र्यानिक कृषि फार्मलाई रु तीन लाख अनुदान छुट्टाइएको छ । तरकारी खेतीमै वडा नं २ अर्गलको प्रगतिशील महिला कृषक समूहले रु तीन लाख, सोही वडामा बाख्रपालनका लागि थामी कृषक समूहले रु १३ लाख ५० हजार र वडा नं ३ हिलको घुम्टे हिल पशुपक्षी फार्मले बाख्रा, बट्टाई र स्थानीय जातका कुखुरापालनका लागि रु १२ लाख अनुदान पाउने भएको छ ।

सोही नामको अर्को फार्मका लागि बाख्रापालनमा रु नौ लाख अनुदान छुट्याइएको छ । हिलकै हर्निस बहुउद्देश्यीय कृषि फार्मले बट्टाई र स्थानीय जातका कुखुरापालनका लागि रु तीन लाख, वडा नं १, २ र ३ लाई समेटेको ताराखोला एकीकृत भेडाबाख्रा फार्मले रु पाँच लाख, वडा नं ३ को बराहखोला बाख्रा फार्मले भेडापालनका लागि रु दुई लाख र वडा नं ५ औलादीको एमएस बाख्रा फार्मले रु दुई लाख अनुदान पाउनेछ ।

वडा नं ३ को अर्खलाबोट बाख्रा फार्मले रु एक लाख, वडा नं ४ को लावाङ कृषक समूहले तरकारी खेतीका लागि रु १६ लाख, सोही वडाको तारागाउँमा रहेको ताराखोला बहुउद्देश्यीय रेम्बो ट्राउट माछा फार्मले रु १२ लाख अनुदान पाउने भएको छ । यस्तै वडा नं ५ को करिमेला कृषि तथा पशुपालन समूहलाई तरकारी खेतीका लागि रु १६ लाख र सोही वडाको मालचरी कृषक समूहलाई बाख्रापालनका लागि रु १० लाख अनुदान छुट्याइएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले कृषिको व्यावसायीकरणका लागि एकीकृत नमूना कृषि फार्मको योजना ल्याइएको बताउनुभयो । “यो कार्यक्रमले कृषिको व्यावसायिक उत्पादन बढ्नुका साथै स्थानीयवासीलाई आयआर्जनसँग जोड्छ, रोजगारी पनि सिर्जना गर्छ”, उहाँले भन्नुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.