भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

कक्षा १२ को परीक्षा उत्साहजनक

कक्षा १२ को परीक्षा उत्साहजनक

भक्तपुर । कोभिड–१९ कारण वैशाखदेखि रोकिएर हुन्छ कि हुँदैन भन्ने अन्योललाई चिर्दै आजदेखि शुरु भएको कक्षा १२ को परीक्षा शान्तिपूर्ण र सहजरुपमा सञ्चालन भएको छ । राष्ट्रिय परीक्षा बोर्डले होम सेन्टर, घरपायक र फरक जिल्लाका परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने गरी व्यवस्थापन गर्दै परीक्षामा सामेल हुने विद्यार्थीको अनिवार्यरुपमा ज्वरो नाप्ने, मास्क लगाउने, एउटा कोठामा दुई मिटरको दूरी हुने गरी २० जनासम्म मात्र राखेर भौतिक दूरी कायम गराई पूर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गराएर देशभर सफल रुपमा सञ्चालन भएको पहिलो दिनको परीक्षाले उत्साह थपेको बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिनुभयो ।

विद्यालयले हेल्थ सेन्टर राख्नुपर्ने नियम पालना गराए पनि कोभिड सङ्क्रमण देखिएका विद्यार्थीलाई छुट्टै परीक्षा दिने व्यवस्था गरेको छ । आजदेखि आगामी १६ गतेसम्म सञ्चालन हुने परीक्षा बिहान ८ बजेदेखि साढे ९ बजेसम्म डेढ घण्टा समयको छ । परीक्षामा देशभरका चार हजार १०५ विद्यालयमा चार लाख ३२ हजार ५०० विद्यार्थीले परीक्षा दिएका थिए ।

कोरोनाका कारण बोर्डले यस वर्ष ४० प्रतिशत अङ्क कक्षा ११, २० प्रतिशत अङ्क कक्षा १२ को आन्तरिक मूल्याङ्कनबाट र ४० प्रतिशत अङ्कका लागि मात्रै परीक्षा सञ्चालन गरेको हो । स्थानीय निकायको सहयोगमा परीक्षा व्यवस्थापन गरिएको परीक्षामा सहभागी परीक्षार्थीसँगै केन्द्राध्यक्ष र निरीक्षकले समेत अनिवार्यरुपमा ज्वरो परीक्षण गरी मास्क लगाउनुपर्ने व्यवस्था गरेको छ ।

बोर्डले हिमाली र उच्च पहाडी जिल्लामा प्रश्नपत्र पु¥याए पनि अन्य जिल्लामा भने विद्यार्थी परीक्षा हलमा प्रवेश गरेपछि मात्र अनलाइन प्रश्नपत्र पठाएको अर्यालले जानकारी दिनुभयो । प्रश्नपत्र हेर्न सबै केन्द्रलाई छुट्टै कोर्ड पठाएर कोड नम्बरअनुसार प्रश्नपत्र हेर्न पाइने व्यवस्था गरिएको थियो ।

अनिवार्य विषयका करिब पाँच सेट प्रश्नत्रप तयार पारेको र परीक्षा सञ्चालन कार्यविधि बनाएर बोर्डले परीक्षाअघि सबै प्रदेश र सम्पर्क कार्यालयले सबै केन्द्राध्यक्षलाई भर्चुअल माध्यमबाट कार्यविधिको विषयमा निर्देशन दिएको थियो ।

परीक्षा अनुगमन र निगरानीका लागि बोर्डमा कन्ट्रोल रुमको व्यवस्था गरिएको र बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेल, सदस्य सचिव अर्याल, परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्मा र तीनै सुरक्षा निकायका अधिकारीले सो रुमबाट परीक्षाको अवस्थाबारे सोधपुछ गर्ने व्यवस्था गरिएको छ । परीक्षाको प्रदेश परीक्षा कार्यालय, स्थानीय निकायका शिक्षा शाखा र जिल्ला शिक्षा समन्वय समितिले परीक्षा अनुगमन गर्ने व्यवस्था गरेको छ । रासस

 


Thali Mobile Pvt.Ltd.