भर्खरै : Sorry, your browser does not support inline SVG.

कसरी बन्छ देश ?

कसरी बन्छ देश ?

जब जनताका चाहना
भुइँ ओछ्याएर हिड्छ सत्ता
जब जनताका सपना
सिरानी च्यापेर सुत्छ शासक
अनि, कसरी समृद्ध बन्छ देश ?

जब मजदुरहरू
उज्यालो भविष्यको साटो
भोकमरी खेप्न बाध्य हुन्छन्
जब किसानहरु
आफ्नो रगत-पसिनाको साटो
बाटोमा तरकारी अनि नालिमा दूध खन्याउन बाध्य हुन्छन्
अनि, कसरी समृद्ध बन्छ देश ?

म प्रश्न गर्छु;
देश कसरी समृद्ध बन्छ ?

जब बुवाआमाले
फि तिर्न नसकेर विद्यालय जाँदै गरेका
छोराछोरी पढाई छोड्न बाध्य हुन्छन्
जब रोजगारीको लागि
युवाहरू आफ्नो जवानी बेच्न वाध्य हुन्छन्
अनि, जनता कसरी सुखी हुन्छन् ?

जब कसैले खान नपाएरै
सडकमा आफ्नो प्राण त्याग्नु पर्छ
या जब कसैले न्याय नपाएरै मर्नु पर्छ
जब कोही अन्यायविरुद्ध आवाज उठाएकै आधारमा जेल चलान हुनु पर्छ
अनि, जनता कसरी सुखी हुन्छन् ?

म फेरि प्रश्न गर्छु;
जनता कसरी सुखी हुन्छन् ?

भनिन्छ;
‘सास रहे सम्मको आश’
~ आश गर्नुपर्छ तर, 
जब रातारात देशको छाती चिरेर शत्रु मानसरोवर पुग्छ
जब शासक ‘मलाई यो विषयमा केही जानकारी छैन’ भन्छ
त्यसपछि सत्ताको लागि देश दाउ लगाउनेहरु
राष्ट्रभक्त कहलिन्छ्न् 
अनि, देश कसरी स्वाधीन हुन्छ ?

जब देशलाई
शान्त, समृद्ध र स्वाधीन बनाउन हिडेकाहरु नै
बडेमानका राक्षस बनिदिन्छ्न्

अनि, देवता जस्ता निर्दोष जनता दासत्ताको धारले रेटीनुपर्छ
भने देश कसरी शान्त हुन्छ ?

हुँदै नहुने भएपछि असिनाको खेती !
ब्यर्थै किन आश्वासन बाड्नु ?
बन्दै नबन्ने भए हिउको घर !
किन यसै सपना देखाउनु ?
प्रिय शासक !
तिमिबाट केही नहुने भएपछि
स्वयम् म आफैले बनाउदैछु असन्तोषको पर्खाल ।।

By-Rana Bahadur Rana

 


Thali Mobile Pvt.Ltd.