पाटन, । यस वर्षको मिलन नेपाली साहसिक पत्रकारिता पुरस्कारबाट नयाँ पत्रिकामा कार्यरत शिवहरि घिमिरे र देखापढी न्यूज पोर्टलमा कार्यरत रोजिना थापा पुरस्कृत हुनुभएको छ । प्रेस सेन्टर नेपाल ललितपुर जिल्लाले शनिबार आयोजना गरेको कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय इन्चार्जसमेत रहनुभएका नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य महेश्वर दाहाल र सेन्टर नेपालका अध्यक्ष विष्णुप्रसाद सापकोटा ‘जुगल’ले पुरस्कार हस्तान्तरण गर्नुभएको हो ।
पुरस्कृत हुने दुवै पत्रकारलाई पाँच हजार एक सय नगदसहित र सम्मानपत्र प्रदान गरियो । द्वन्द्वकालमा राज्यद्वारा बेपत्ता पारिएका पत्रकार मिलन नेपालीका नाममा हरेक वर्ष यो पुरस्कार प्रदान गरिँदै आएको छ । यो वर्षदेखि रु ५१ हजारको अक्षयकोष निर्माणका लागि बेपत्ता पत्रकार नेपालीकी श्रीमती सविता बस्नेतले शनिबार रु ४१ हजार रकम हस्तान्तरण गर्नुभएको सेण्टरका जिल्ला अध्यक्ष रामहरि कार्कीले वताउनुभयो ।
