भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

चार मेट्रिक टन फोहर व्यवस्थापन

चार मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ । वाग्मती सफाइ महाभियानको शनिबार ४७० औँ हप्तामा सिनामङ्गलस्थित वाग्मती नदी क्षेत्रमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । ‘राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयं सेवा’ भन्ने नाराका साथ वाग्मती पुलदेखि ५०० मिटर दक्षिण वाग्मती नदी किनारमा सफाइ गरिएको हो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, सिभिल क्यापिटल मर्चेन्ट प्रालिबाट ११ जनाको समूह, वाग्मती फोहर उन्मूलन उपभोक्ता समिति, स्थानीयवासी, अधिकार सम्पन्न वाग्मती समितिका कर्मचारी, काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकु एवं वाग्मती अभियानकर्मीलगायतको सहभागिता थियो । सो अवसरमा वाग्मती किनारका बासिन्दाको घरमा घरदैलो कार्यक्रम गरी जागरण गरिएको छ । नदीको किनारमा राखिएका बारको समेत व्यवस्थापन गरिएको छ । अर्को हप्ता शनिबार बिहान बढीभन्दा बढी स्थानीय बासिन्दालाई सहभागी गराउन स्थानीय युवासँग समन्वय गरिएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो ।

आगामी शनिबार सिनामङ्गलस्थित वाग्मती पुलदेखि ५०० मिटर दक्षिण वाग्मती किनारमा सफाइको कार्यक्रम तय गरिएको पनि उहाँले सुनाउनुभयो । विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको सफाइ महाभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर चलिरहेको छ । जाडो, गर्मी, वर्षा, चाडपर्वलगायत प्रतिकूल अवस्थामा पनि सफाइ महाभियान रोकिएको छैन । महाभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी सफाइ अभियान पनि सुरु भएको छ । हाल राजधानीमा २५ स्थानमा सफाइ भइरहेको छ ।
यसैगरी काठमाडौँ उपत्यका बाहिरका मुख्य सहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ । राजधानी बाहिर १०९ स्थानमा सफाइ भइरहेको जनाइएको छ । यसैगरी गुह्येश्वरीमाथिको वाग्मतीलगायत वाग्मतीका विभिन्न खण्ड, रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो भाग, मनोहरा, चक्रपथका उत्तरी र पश्चिमी भागमा पनि सफाइ गरिएको जनाइएको छ । ललितपुरको गोदावरी खोला र भक्तपुरको हनुमन्तेमा पनि सफाइ जारी रहेको छ ।

अभियानकर्मीको सक्रियतामा देशव्यापीरुपमा सफाइ अभियान जारी रहे पनि स्थानीय सरकारको पनि हुनुपर्ने जति सहयोग भएको छैन । फोहर व्यवस्थापन स्थानीय सरकारकै दायित्व भए पनि काम गर्ने रुचि देखाएका छैनन् । देशको राजधानी काठमाडौँ उपत्यकामा एक महिनाभन्दा लामो समयदेखि फोहर उठेको छैन । सांस्कृतिक सहरका रुपमा समेत विश्वमा परिचित काठमाडौँमा फोहर नउठ्दा पर्यटकमा पनि नकारात्मक सन्देश गएको छ ।स्थानीय सरकार फोहर व्यवस्थापन आफ्नो काम होइनजस्तो गरी पन्छने गरेका छन् । केही अभियानकर्मीले भने स्थानीय तह निर्वाचनका बेला मत माग्न आउने राजनीतिक दलका नेतालाई यस विषयमा प्रश्न गर्न आमसमुदायमा आह्वान गरेका छन् । विसं २०७४ को स्थानीय तह निर्वाचनबाट निर्वाचित अधिकांश स्थानीय तहका नेतृत्वले फोहर व्यवस्थापनलाई प्राथमिकतामा राखेका छैनन् ।स्थानीय तहको दोस्रो निर्वाचन सम्पन्न भएर मत परिणाम आउने क्रम जारी रहँदा राजधानी काठमाडौँमा फोहर व्यवस्थापनको विषयमा बहस चलेको छ । यसअघि सबै दलले जारी गरेको घोषणापत्रमा फोहर व्यवस्थापनलाई मुख्य बुँदाका रुपमा उठाएका छन् । निर्वाचन जितेपछि भने यसलाई बिर्सने गरेकाले समस्या आउने गरेको अभियानकर्मी कञ्चन राउतले जानकारी दिनुभयो ।

 


Thali Mobile Pvt.Ltd.