भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चिसापानीमा ट्राउट माछापालन

चिसापानीमा ट्राउट माछापालन

बागलुङ ।गलकोट नगरपालिका–३ चिसापानीमा रेम्बो ट्राउट माछाको व्यावसायिक पालन थालिएको छ । गलकोट–७ मल्मका युवा व्यवसायी हुम थापाले माछापालनमा लगानी गर्नुभएको हो ।उहाँका अनुसार ११ वटा पोखरीमा ट्राउटपालन भइरहेको छ । “अहिले १६ हजार भुरा पोखरीमा छन् । एक क्विण्टलजति बेच्ने भइसके”, थापाले भन्नुभयो । गत वर्ष नै माछापालनसहित एग्रो रिसोर्ट सञ्चालनमा ल्याउने उहाँको तयारी थियो । कोरोनाका कारण उक्त योजना पछाडि धकेलिएको छ । रेष्टुराँ, पौडी पोखरीलगायतका संरचना भने बनिसकेका छन् । माछापालन व्यवसायसहित अन्य पूर्वाधारमा हालसम्म रु एक करोडभन्दा बढी खर्च भइसकेको थापाको भनाइ छ ।

‘दरमखोला रेम्बो ट्राउट एग्रो’ नामक दिएर उहाँले व्यवसाय थाल्नुभएको हो । पछि एग्रो रिसार्टकै रूपमा विस्तार गर्ने र त्यसका लागि पूर्वाधार तयारीको काम भइरहेको थापाले बताउनुभयो । पछिल्लो समय ट्राउटपालन हेर्न, रेष्टुराँमा समय बिताउन र पौडीको आनन्द लिन मानिसहरू त्यहाँ जान थालेका थिए । गत नयाँ वर्षको आसपासमा त दैनिक सयौँको भीड नै लाग्थ्यो । गर्मीयाममा पौडीको आनन्द लिन आउनेको सङ्ख्या पनि उत्तिकै हुन्थ्यो । पौडीका लागि प्रतिव्यक्ति रु १०० र विद्यार्थीलाई रु ५० तोकिएको छ । कोरोनाको जोखिमले पुनः निषेधाज्ञा जारी गरिएपछि अहिले व्यवसाय बन्द छ । “रेष्टुराँ त खोल्ने कुरा भएन, आलो माछा किन्न आउनेलाई बेचिरहेका छौँ”, थापाले भन्नुभयो । ट्राउट माछाको मूल्य प्रतिकिलो रु एक हजार ४०० छ ।रेष्टुराँमा परिकार बनाएर खाँदा एक प्लेटको रु ४०० पर्छ । थापाले ट्राउटसँगै स्थानीय दरमखोलाको असला माछा पनि पाल्नुभएको छ ।

एउटा पोखरीमा असलाका एक हजार ५०० भुरा छाडिएको छ । आफ्नै जग्गामा बाह्रैमास चल्ने पानीको मूल भएपछि थापाले ट्राउटपालनको सोच बनाउनुभएको थियो । पानी परीक्षणपछि प्राविधिकरूपमा उपयुक्त देखिएकाले ट्राउट माछा पाल्न शुरु गरेको उहाँले बताउनुभयो । ट्राउट १२ देखि १८ डिग्रीको तापक्रममा पाल्न सकिन्छ । जापानी प्रजातिको ट्राउट माछा स्वाद र स्वास्थ्य दुवै हिसाबले उत्कृष्ट मानिन्छ । बजारमा पनि ट्राउटको माग बढी छ । मुख्यरूपमा माछापालन गर्ने र सोही ठाउँलाई एग्रो रिसोर्टका रूपमा विकास गर्ने लक्ष्यसहित लगानी गरेको थापाको भनाइ छ ।

रिसोर्ट परिसरमा वनभोजस्थल बनाउने, स्थानीय गुरुङ जातिको परिकार खुवाउने, कला, संस्कृति देखाउनेसम्मको योजना उहाँसँग छ । सबै संरचना बनाउँदा झण्डै २७ रोपनी क्षेत्रफल ओगटिने देखिएको छ । एकैसाथ ३० हजार भुरा छाड्न मिल्ने गरी पोखरी निर्माण गरिएको छ । माछापालन र रेष्टुराँ व्यवसायमा अहिले सात जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । “पर्यटकीय हिसाबले पनि यो ठाउँ चिनिने र व्यवसाय पनि सफल हुने देखेर लगानी गरेको हुँ”, थापाले भन्नुभयो । धन कमाउन विदेश ताक्ने युवाहरूको लहरबीच गाउँमै उद्यमी बन्ने उहाँको सोच र लगनको धेरैले प्रशंसा गर्छन् ।

 


Thali Mobile Pvt.Ltd.