कैलाली । एक युवकको चुरोट नदिएपनि हत्या गरेको आरोपमा १४ जना पक्राउ परेका छन् । विवाहमा गएका एक युवकको हत्या गरेको आरोपमा प्रहरीले १४ जनालाई पक्राउ गरेको हो । लम्कीचुहा नगरपालिका –९ घोराघाटका डिल्ली कोइरालाको विवाहमा गएका बेला गएराति कैलालीको घोडाघोडी नगरपालिका –२ का २६ वर्षीय मोहन अधिकारीको हत्या भएको हो ।
अधिकारीमाथि गएराति कुटपिट भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सह प्रवक्ता गणेश नाथले बताए । कुटपिटबाट घाइते युवकको उपचारको क्रममा ज्यान गएको हो । अधिकारी मंगलबार लम्कीचुहा नगरपालिका ९ स्थित डिल्ली कोइरालाको विवाहमा गएका थिए । त्यहाँ एक व्यक्तिले उनीसँग चुरोट मागेको र मोहनले चुरोट नदिएपछि विवाद सुरू भएको थियो ।
त्यही निहुँमा चुरोट माग्ने युवकको समूहले अधिकारीमाथि कुटपिट गरेको इन्स्पेक्टर नाथले बताए ।कुटपिटबाट घाइते भएका उनको टाउको र खुट्टामा चोट लागेको थियो । अचेत अवस्थामा रहेका मोहनको उपचारका लागि लालरत्न अस्पतालबाट मेडिकल कलेज कोहलपुरमा रिफर गरिएको थियो । कोहलपुरले उनलाई टिकापुर अस्पतालमा रिफर गरेको आज बिहान साढे ७ बजे उपचारकै क्रममा डाक्टरले मृत घोषणा गरेका थिए ।
कुटपिटमा संलग्न घोराघाटका २३ वर्षीय विवेक भुल, २२ वर्षीय विवेक भुल, वर्ष २२ का सन्तोष परियार, वर्ष २४ का गणेश भुल, वर्ष १५ का पिन्टु चौधरी, वर्ष २२ का दिलबहादुर चौधरी र २२ वर्षीय पुरन सार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका –९ का २८ वर्षीय बिर्ख भुल, वर्ष २४ का सोनु साउँद, वर्ष २३ का चक्र कुँवर, २० वर्षका अकेश कुँवर, वर्ष २३ का निवन केसी, वर्ष २५ का रामलाल चौधरी र वर्ष २४ का विशाल सुनार रहेका छन् । पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय लम्कीले अनुसन्धान गरिरहेको छ ।
