म्याग्दी । जिल्लाको मङ्गला गाउँपालिका–५ अर्मनमा जथाभावी खनिएको सडकका कारण पहिरो सिर्जना भएको छ । सडक विस्तार गर्दा खनिएको माटोको सुरक्षित व्यवस्थापन नगर्दा अर्मनको हाँडेभिर बस्ती पहिरोको जोखिममा परेको हो । पोकबाट नेटा–अर्मन–किमचौर हुँदै बागलुङको ताराखोला जोड्ने सडक विस्तारका क्रममा नेटाखण्डको पाखोमा फालिएका ढुङ्गा–माटोले हाडेभिरको बस्ती, स्वास्थ्यचौकी जोखिममा पर्नुका साथै खानेपानीको मुहान, सिँचाइको नहर र खेतीयोग्य जमिन पुरिएको छ ।
पहिराले खिमबहादुर रोका, कर्णबहादुर रोका, रनवीर रोकासहित हाडेभिरका सात घर उच्च जोखिममा परेका छन् । माथिल्लो हाडेभिर खोल्लाका दलबहादुर थापाका परिवार सडकबाट आएको पहिरोले यसअघि नै विस्थापित भएका थियो । स्थानीयवासी अस्तमान घर्तीले सडक विस्तारका लागि स्काभेटरले पहाड खन्न थालेसँगै पहिरो सक्रिय भएको बताउनुभयो । “बाह्र वर्षअघि सडक खन्दा मेरो १० रोपनी पाखोबारी पहिरोमा परिणत भएको थियो”, उहाँले भन्नुभयो, “अहिले फेरि सडक फराकिलो बनाउन खनेको माटो पाखोमा फालिँदा पहिरो चलेर उठिबास लगायो ।
” चालु आर्थिक वर्षमा प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालयले नेटा–अर्मन–किमचौर हुँदै ताराखोला जोड्ने सडक स्तरोन्नतिका लागि त्रिशक्ति–श्रमजीवी जेभीसँग रु ८१ लख ४६ हजार ६५६ मा ठेक्का सम्झौता गरेको थियो । पूर्वाधार कार्यालय र निर्माण व्यवसायीको लापरवाहीका कारण पाखो खनेर बस्तीतर्फ माटो फालिँदा पहिरो चल्न थालेको हाँडेभिरका बासिन्दा चित्रकला सापकोटाले बताउनुभयो । “सडक खन्दा निस्कने माटो एक किलोमिटरसम्म टाढा लगेर व्यवस्थापन गर्ने सम्झौता कार्यान्वयनमा सम्बद्ध कार्यालय र निर्माण व्यवसायीले चासो देखाएका छैनन्”, उहाँले भन्नुभयो, “डोजरले पहाडको भित्ता कोपरेर पाखाभरि माटो फाल्दा रुख, बिरुवा र बारीमा लगाएको खेतीबाली मासिएको छ ।”
पाखोमा पालिएको माटो आकाशबाट पानी पर्नासाथ पहिरो बनेर बग्न थालेको हो । पहिराले ३५ घरधुरीले उपभोग गर्ने खानेपानी आयोजना र आठ हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने नहर पुरेपछि धानको ब्याड राख्न नपाएको स्थानीयवासी हर्कबहादुर रोकाले बताए । “मुहान पुरिएपछि खानेपानी आपूर्ति भएको छैन”, उहाँले भन्नुभयो, “नहर पनि पहिराले पुरिएकाले हाडेभिर र काँशेबगरमा धानको ब्याड राख्न समस्या भएको छ ।निर्माण व्यवसायी प्रकाश बानियाँले सम्झौतामा उल्लेखित एक किलोमिटर क्षेत्रभित्र माटो व्यवस्थापन गर्न ठाउँ नपाएको बताउनुभयो । “एक किलोमिटर वरपर माटो फाल्ने ठाउँ नै भेटिएन”, उहाँले भन्नुभयो, “माटो फाल्ने ठाउँ नपाउँदा समस्या भएको हो । त्यहाँ ३० मिटर ग्यावियन पर्खाल लगाएर काम रोक्ने सोचेको छु ।”
