भक्तपुर । जनप्रतिनिधि भएकाले नगरबासीको पक्षमा जिम्मेबार भएर काम गर्नु आफ्नो कर्तव्य भएको सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले बताएका छन् ।फोहोरमैलाको ब्यवस्थापन गर्न सरोकारवाला संस्थालाई निर्देशन दिदै उनले कुनै पनि काममा जनताका गुनासो नआउने गरि जिम्मेवार भएर काम गर्न कर्मचारी र जनप्रतिनिधिलाई अनुरोध गरे ।
वातावरण दिवसको अवसर पारेर आयोजना गरिएको फोहोरमैला ब्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख थापाले नगरलाई स्वच्छ, हराभरा र व्यवस्थित बनाउन सबै लाग्नु पर्ने बताए । जनताका समस्या समाधान र उनीहरुका गुनासा सम्बोधन गर्न आफु रातदिन नभनी खटिरहेको बताए ।
खुल्ला दिशामुक्त र पूर्णसरसफाईयुक्त नगरपालिका बनाउने लक्ष्यका साथ नगरपलिका अगाडी बढिरहेको भन्दै वातावरण प्रदुषण हुने उद्योगहरु सूर्यविनायकमा स्वीकृति नदिएको र आगामी दिनमा पनि स्वीकृति नदिने प्रमुख थापाले बताए ।
नगर उप–प्रमुख सरिता तिमिल्सिना भट्टराईले फोहोरमैलाको सवैभन्दा ठूलो चुनौती प्लास्टिक भएको बताइन् । घरघरबाट नै फोहोर वर्गीकरण गर्नुपर्नेमा जोड दिदै उनले सानो कुराले ठूलो परिवर्तन गर्न सकिने उदाहरण प्रस्तुत गरिन् । फोहोरमैला व्यवस्थापनलाई नगरपालिकाको नीतिमा नै समेटेर अगाडि बढ्ने उनको भनाइ छ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले ऐतिहासिक नगर सूर्यविनायक सफा, हराभरा भए मात्र नगरको वातावरण स्वच्छ हुने बताए । हरेक खाली भूभागमा वृक्षारोपण गर्नु अहिलेको आवश्यक्ता रहेको उनको भनाइ छ । दत्तचित्त भएर सरसफाइमा लाग्न कर्मचारीलाई आग्रह गरे ।
फोहोर व्यवस्थापन ठूलो चुनौतिका रुपमा रहेको उल्लेख गर्दै फोहोरमैलाले विकासमा समेत समस्या निम्त्याउने गरेको नगरका प्रवक्ता रविन्द्र सापकोटाले बताए । कार्यक्रममा शाखा प्रमुख अनिरुद्र नेपाल, वडा नं. २ का वडाध्यक्ष प्रदिप कार्की, वडा नंं ९ का वडाध्यक्ष तथा दैवी प्रकोप तथा विपत्त ब्यवस्थापन समितिका संयोजक भगवन खत्रीलगायत वक्ताले नगरपालिका पूर्ण फोहोरमुक्त बनाउने अभियानमा लागिपरेको जानकारी दिए ।
यस्तै सूर्यविनायक नगरपालिकामा फोहोरमैलाको व्यवस्थापन, अवस्था, सम्भावना र चुनौतीका विषयमा नेप्सेम्याकका अध्यक्ष टीकाराम दाहालले कार्यपत्र प्रस्तुत गरेका थिए । करिब ३५ हजार घर परिवार रहेको नगरपालकामा नेप्सेम्याकले १७ हजार दुई सय ८२ घरमा काम गरिरहेको बताएको छ । एक वर्षमा खुल्ला फोहोरमुक्त बनाउने लक्ष्य लिएको कार्यक्रममा नेपाल फुलवारीका असोक ठाकुरले जानकारी गराएका थियो ।
